बाँके फागुन २३ गते ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणमा सबैको साथ र सहयोग हुनु पर्ने औल्याएका छन् । उनले नेपालगन्जमा आयोजित दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बृहत् ट्राफिक सचेतना कार्यक्रममा उक्त कुरा औल्याएका हुन् ।
नेपालगन्जको धम्बोझी चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीको एक्लैको प्रयासले सडक दुर्घटना न्युनीकरण सम्भब नभएको बताउँदै सम्पूर्ण सरोकारवाला निकायको साथ र सहयोग आवश्यक भएको औंल्याए ।
उनले सडक दुर्घटना हुनुमा विभिन्न कारण भएको बताउँदै एक जनाको लापरवाहीले दुर्घटना हुने र अकालमा ज्यान जाने तथा घाइते, अपाङ्ग तथा अशक्त बन्नु परिरहेको बताए । ’ट्राफिक प्रहरीले मात्र दुर्घटना न्युनीकरण सम्भब छैन । सडक विभाग, ट्राफिक, चालक, पैदल यात्रु, विद्युत्, यातायात व्यवस्था कार्यालय, स्थानीय, प्रदेश र सङ्घ सरकारको पनि उत्तिकै भूमिका रहन्छ,’ उनले भने ।
दुर्घटना न्युनीकरण गर्न स्थानीय तहले अति व्यस्त चोक र सडकका आकासेपुल, ट्राफिक लाइट, छाडा पशुचौपायाको उचित व्यवस्थान गर्नुपर्ने बताउँदै एसपि खत्रीले पुराना सवारी साधनले पनि दुर्घटना निम्त्याउने स्पष्ट पारे । ’यातायात व्यवस्था कार्यालयले पुराना सवारी साधन चेकजाँच र पुराना गाडी चलाउनमा बन्देज लगाउन सक्ने हो भने पनि केहि हदसम्म दुर्घटना न्युनीकरण गर्न सकिन्छ,’ एसपि खत्रीले भने, ’यात्रुहरूले पनि जेब्रा क्रसिङ र आकासे पुलको प्रयोग गर्ने, बाटो काट्दा दायाँबायाँ हेरेर काट्ने, सकभर जेब्राक्रसबाट बाटो काट्ने, सवारीसाधनको गती हेर्ने, सवारीसाधनमा यात्रा गर्दा फुन्डिएर, छतमा बसेर, सिटभन्दा बढी तथा कोचाकोच भएर यात्रा नगर्ने हो भने दुर्घटनाबाट जोगिन सकिन्छ ।’
विद्युत् कार्यालयले पनि सडकका बिच भागमा रहेका पोल हटाउने, सम्बन्धित निकालयले सडकमा सिसी क्यामेरा जडान गर्ने र सडक रेखा चुस्तदुरुस्त राख्ने, चालकले पनि बस स्टप भएको ठाउँमा मात्र गाडी रोक्ने, लेन अनुशासनको पालना गर्ने र तीव्र गतिमा गाडी नचलाउने, यात्रुलाई सही ठाउँमा चढाउने र झार्ने गर्दा पनि दुर्घटना कम गर्न सकिने उनको भनाइ छ ।
एसपि खत्रीले चालु आर्थिक वर्षको साढे सात महिनामा लुम्बिनी प्रदेसमा सवारी दुर्घटनामा परी तीन सय ३ जनाले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार चालु आवमा एक हजार २६३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक हजार ९१८ जना घाइते भएको जानकारी दिँदै उनले फागुन महिनामा मात्र २९ जनाले ज्यान गुमाएको बताए ।
उनले चालु आवको माघ महिनासम्म बाँकेमा भएको दुर्घटनामा ४७ जनाले ज्यान गुमाएको तीन सय १० जना घाइते भएको जानकारी दिए । गत आवमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परी सय जना बालकालिकासहित तीन सय ९५ जनाले ज्यान गुमाउनु परेको उल्लेख गरे ।
विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपममानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलबासे, संयोजक विमल ढकाल लगायतले आ–आफ्नो बिचार राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्करराज पन्तले जानकारी दिए ।
Discussion about this post