बर्दिया फागुन २५ गते ।
बर्दियाको मधुवन नगरपालिका–७ का युवा वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउनका लागि रातभर गस्ती गर्न थालेका छन् । एक हप्ताको फरकमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि उनीहरू रातभर गस्ती गर्न थालेका हुन् ।
भारतीय सीमावर्ती क्षेत्रमा रहेको वडा नं. ७ का विभिन्न गाउँका करिब ३० जना युवा र सुरक्षाकर्मीको टोली रातभर गस्ती गरिरहेको छ । गाउँमा भएका यात्रुवाहक बस, स्कुल बस, ट्याक्टरलगायतका सवारीसाधनको प्रयोग गरेर रातभर गस्ती गर्ने गरेको मधुवन नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्र हमालले बताए । उनका अनुसार हरेक रात गस्तीको क्रममा तीन वटासम्म चितुवा र पाटेबाघ गाउँबाट लखेट्ने गरिएको छ ।
गत फागुन ४ गते आँगनमा खेलिरहेका साढे दुई वर्षका बालक रिहान चलाउनेलाई चितुवाले आक्रमण गरेर मारेपछि स्थानीयवासी गस्ती गर्न थालेका हुन् । त्यसभन्दा अगाडि माघ २५ गते सोही स्थानमा खेतमा घाँस काट्दै गर्दा ५१ वर्षीय जुनाकुमारी लामिछानेलाई बाघले आक्रमण गरेको थियो । त्यसै गरी हरेक रात चितुवा र पाटेबाघले आक्रमण गरी घरपालुवा जनावर लैजाने गरेको स्थानीय बताउँछन् ।
मधुवन वडा नं. ७ भारतीय सीमावर्ती क्षेत्रमा पर्दछ । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट आएका चितुवा र पाटेबाघलगायतका जङ्गली जनावरबाट पीडित हुने गरेका छन् । स्थानीयवासीका अनुसार भारतको विभिन्न स्थानमा समस्याग्रस्त बाघ र चितुवा नियन्त्रणमा लिएर केही समय पश्चात् सीमावर्ती क्षेत्रका निकुञ्ज तथा आरक्षमा छाडिने गरिएको छ । बर्दिया जिल्लाका राजापुर, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा भारतीय सीमावर्ती वनबाट आएका जङ्गली जनावरबाट स्थानीयवासी पीडित बन्ने गरेका छन् ।
Discussion about this post