बाँके फागुन २६ गते ।
राप्तीसोनारी गाउँपालिकाको जंगलमा नेपालगन्जका छाडा चौपाया ब्यवस्थापन गर्न नेपालगन्ज उपमहानगरले ३५ लाख रुपैयाँ खर्च गरेको छ । छाडा चौपाया ब्यवस्थापनका लागि उपमहानगरले भारी परिमाणको रकम खर्च गरि नेपालगन्जमै कान्जी हाउस बनाएको छ । कान्जी हाउस ब्यवस्थापन गर्न नसकेको उपमहानगरले राप्तीसोनारीको जंगलमा छाडा चौपाया ब्यवस्थापन गर्ने भन्दै झुठै ३५ लाख रुपैयाँ खर्च गरेको छ ।
उपमहानगरले छाडा चौपाया ब्यवस्थापनमा धेरै रुपैयाँ खर्च गरेको भने पनि नेपालगन्जका विभिन्न सडक र गल्लीमा छाडा चौपाया छ्याप छ्याप्ती देख्न सकिन्छ । यसले नेपालगन्ज उपमहानगरले ३५ लाख रुपैयाँ गरेको खर्च बालुवामा पानी हाले जस्तै भएको छ । उपमहानगरले छाडा चौपायालाई व्यवस्थित गर्न नसक्दा नेपालगन्जको सडकमा फेरि पनि चौपायाको सङ्ख्या बढ्दै गएको छ । उपमहानगरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चड र गाईगोरुले बास बनाएका छन् । यसले ती सडकमा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ नै दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।
सर्वसाधारणको आँखामा छारो हाल्न नेपालगन्ज उपमहानगरले नेपालगन्जका सडक, गल्ली र चोकमा भएका छाडा चौपायालाई नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याउने गरे पनि स्थायी समस्या समाधानका लागि कुनै पहल गर्न नसकेको स्थानीयको गुनासो छ । छाडा चौपायाले दिउँसो भन्दा रातको समयमा बढि दुर्घटना बढाएको छ । नेपालगन्जको सुर्खेत रोडको विभिन्न ठाउँमा एक त सडक बत्ति बल्दैन त्यसैमा छाडा चौपायाको हुलले थप जोखिम बढाएको छ ।
नेपालगन्जको मुख्य सडक सुर्खेत रोड, सदरलाइन र भेरी अस्पताल क्षेत्रका सडकमा सडक अवरुद्ध गर्ने गरि घोडा, खच्चड र गाईगोरुको बथान देख्न सकिन्छ । तर यसतर्फ नेपालगन्ज उपमहानगरका मेयर र उपमेयरले कुनै चासो दिएको पाइदैन । छाडा चौपायाले समस्या पारेको मेयर र उपमेयरलाई जानकारी नभएको भने होइन ।
नेपालगन्जबासीले छाडा चौपाया ब्यवस्थापनका लागि मेयर र उपमेयरसँग आग्रह गरे पनि कानमा तेल हालेर सुतेको सर्वसाधारण बताउँछन् । निर्वाचनका बेला एक महिनाभित्र छाडा चौपाया ब्यवस्थापन गरि नेपालगन्जलाई नमुना सहर बनाउने प्रतिवद्धता जाहेर गरेका मेयर र उपमेयर अहिले कता हराएका छन्, खोज्नु पर्ने बेला भएको छ ।
Discussion about this post