बाँके फागुन २६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको लापरवाहीका कारण नेपालगन्ज उपमहानगरपालिका १५, जमुनाह बजार अस्तब्यस्त बनेको छ । नेपालगन्ज उपमहानगरपालिकाले स्नेहा मानव कोल्ड स्टोरलाई ई–रिक्सा पार्किङ तथा ब्यवस्थापनको जिम्मा दिएको छ । वार्षिक ३० लाख रुपैयाँमा ठेक्का लिएर स्नेहा मानव कोल्ड स्टोरले पार्किङ तथा ब्यवस्थापनको जिम्मा पाए पनि ई–रिक्सा सडक ढाकिने गरि पार्किङ गरेपछि जमुनाह बजार क्षेत्र अस्तब्यस्त बनेको हो ।
दिनमा कम्तिमा एक हजार रिक्सा जमुनाह जाने गरेको ठेकेदार कम्पनीले जनाएको छ । यात्रु लिएर जमुनाह जाने ई–रिक्सासँग ठेकेदार कम्पनीले २० रुपैयाँ शुल्क लिँदै आएको छ । पार्किङ नगर्ने ई–रिक्सासँग समेत शुल्क लिएर ठेकेदार कम्पनीले अत्याचार गरेको ई–रिक्सा ब्यवसायीको आरोप छ । ठेकेदार कम्पनीले नेपालगन्ज भन्सार कार्यालय निवास अगाडीको खाली जमिनबाट मात्र ई–रिक्सा जमुनाहतर्फ जान दिने गरेको छ । जुन सडक विभागको क्षेत्र भित्र पर्दछ ।
ठेकेदार कम्पनीले तोकेको ठाउँबाट ई–रिक्सा नलगे उक्त कम्पनीले परिचालन गरेका ब्यक्तिहरुले ई–रिक्सा चालकलाई जथाभावी गाली गलौच गर्ने, जवरजस्ती शुल्क लिने मात्र गर्दैनन् हातपात गर्न समेत पछाडी पर्दैनन् । ठेकेदार कम्पनीका कर्मचारीले गुण्डागर्दी शैलीमा शुल्क उठाउने गरेको ई–रिक्सा चालकको गुनासो छ । ‘म पार्किङ गर्दैन भन्दा पनि गुण्डागर्दी शैलीमा जवरजस्ती शुल्क लिइन्छ । नदिए कुटपिट र गाली गलौज खानु पर्छ । ई–रिक्साको चाबी खोसेर राख्नेसम्मको हर्कत गरिन्छ,’ एक ई–रिक्सा चालकले नाम उल्लेख नगर्ने शर्तमा अनलाइन खोज खवरसँग भने ।
गत माघ १ गतेदेखि लागू हुने गरि पार्किङको ठेक्का पाएको कम्पनीका प्रमुख कुमार सिंह ठकुरीले बताए । उनले नेपालगन्ज उपमहानगरका कारण ई–रिक्सा पार्किङमा समस्या भएको भन्दै उम्किने प्रयास गरेका छन् । पार्किङलाई ब्यवस्थित बनाउन डिभाइडर, सिसि क्यामेरा र सडक विभागको क्षेत्राधिकार भित्र रहेको जमिन पिच गरिदिन नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टसँग माग गरे पनि कुनै सुनुवाई नभएको उनले आरोप लगाए ।
नेपालगन्ज उपमहानगरपालिका र स्नेहा मानव कोल्ड स्टोर वीच दुवै पक्ष मिलेर ई–रिक्सा ब्यवस्थापन गर्ने भएको सहमति छ । ठेकेदार कम्पनीले ई–रिक्सा ब्यवस्थापन गर्न नसक्दा रुपइडिहा जाने र आउने मात्र नभई एम्बुलेन्सलाई समेत आउजाउ गर्न समस्या भएको छ । सडकको वीच भागसम्म ई–रिक्सा पार्किङ हुँदासमेत ठेकेदार कम्पनी र नेपालगन्ज उपमहानगरपालिका एक अर्कालाई आरोप लगाउँदै उम्किने प्रयास गरेको देखिन्छ ।
सडक विभागको जमिनमा पार्किङ स्थल बनाएको उजुरी परेपछि सडक विभागले संरचना नबनाउन र पार्किङ स्थल नबनाउन सम्बन्धित निकायको नाममा पत्र जारी समेत गरिसकेको छ । तर, सडक विभागको पत्रको धज्जी उडाउँदै नेपालगन्ज उपमहानगरपालिकाले स्नेहा मानव कोल्ड स्टोरलाई पार्किङ गर्न ठेक्का दिनुले उपमहानगरको निर्णयमाथि आशंका उब्जिएको छ ।
Discussion about this post