बाँके फागुन २८ गते ।
लुम्बिनीमा पर्यटन नीति अन्तिम टुङ्गोमा पुगेको छ । पर्यटन नीति कस्तो बनाउने भन्ने बिषयमा मन्त्रालयले सरोकारवालाहरुसंग चरण चरणमा छलफल गरिसकेको छ । बाँकेको कोहलपुर, रुपन्देहीको बुटवल, रोल्पा र दाङ देउखुरीमा मन्त्रालयले पर्यटन नीति निर्माणका लागि पटक पटक छलफल गरेको छ । मन्त्रालयले नीतिको ड्राफ्ट तयार पार्ने जिम्मा गाउँपालिका महासङ्घलाई दिएको छ ।
महासंघले ड्राफ्ट तयार पार्ने काम गरिरहेको छ । यो ड्राफ्टमा अन्तर मन्त्रालय स्तरीय छलफल सँगैबाट प्राप्त थप सुझावहरूलाई समेटेर पर्यटन नीति तयार हुने र मन्त्रालयबाट नीति पासका लागि मन्त्री परिषदमा पठाइने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए ।
‘लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि विभिन्न चरणमा भेगीय रुपमा छलफल कार्यक्रम गरेर सुझाव संकलन गरेका छौँ,’मन्त्री न्यौपानले भने ‘यी सुझावलाई समेटेर टुङ्गोमा पुर्याउँछौँ।’ मन्त्रालयका अनुसार अहिलेसम्म भएका छलफलका क्रममा पर्यटन नीति निर्माणका लागि पर्यटन सम्बन्धी बृहत् योजनालाई मात्रै प्राथमिकता दिन सुझाव प्राप्त भएका छन् ।
साना टुक्रे योजनाहरूलाई प्राथमिकता दिँदा पर्यटन प्रवर्धन हुन नसक्ने भन्दै ठुला योजनाहरूको पहिचान गरेर मात्रै लगानी गर्नु पर्ने सुझाव सरोकारवालाहरूबाट आएको छ ।
साना टुक्रे योजनाहरूमा लगानी गरेर पर्यटन प्रवर्धन हुन सक्दैन भन्ने सुझाव प्राप्त भएका छन्,’ मन्त्री न्यौपानेले भने ‘ठुला आयोजना छनौट गरेर त्यसमा लगानी गर्न सके मात्रै पर्यटकलाई आकषण गर्न सकिन्छ र यहाँको पर्यटन विकासमा टेवा पुग्छ भन्ने निष्कर्ष मन्त्रालयको पनि रहँदै आएको छ ।’ पर्यटन सर्किट निर्माण सँगै पर्यटन उद्योग निर्माणमा ध्यान दिइनु पर्ने सुझाव सरोकारवालाहरूको छ ।
Discussion about this post