बाँके फागुन २८ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अन्य दिनभन्दा होलीको अवसरमा सवारी साधन चेकजाँचमा कडाई गर्ने भएको छ । २९ फागुन र १ चैतमा सवारी साधन चेकजाँचमा अन्य दिनभन्दा कडाई गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।
उनले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै बस्ने, तीव्र गतिमा सवारी साधन चलाएका कारण दुर्घटना भएको यसअघिका वर्षले देखाएको बताउँदै उनले सहरी क्षेत्र र ग्रामिण क्षेत्रमा फरक फरक तरिकाले ट्राफिक जाँच गरिने बताए । ‘पहाडी र तराईमा मनाइने होलीको अवसरमा दुई दिन विशेष फरक र कडाईका साथ चेकजाँच गर्ने निर्देशन मातहतका ट्राफिक प्रहरीलाई निर्देशन भएको छ,’ उनले भने, ‘ट्राफिक नियम उलंघन गरि सवारी साधन चलाएको पाइएमा ट्राफिक नियम र ऐन बमोजिम कारवाही गर्ने नीति लिइएको छ ।’
उनले मादक पदार्थ सेवन गरि, तीव्र गति र मोटरसाइकलमा दुई जनाभन्दा बढि र क्षमताभन्दा धेरै यात्रु नबोक्न आग्रह गरेका छन् । ‘ट्राफिक नियम उलंघन गरि सवारी साधन चलाउँदा अरुसँगै आफूलाई पनि क्षति पुग्छ । अरुकोभन्दा आफ्नो क्षति हुन नदिन ट्राफिक नियम पालना गरि सवारी साधन चलाउन म सवैलाई आग्रह गर्दछु,’ उनले भने ।
होलीको अवसरमा मादक पदार्थ सेवन गरि अत्यधिक गतिमा मोटरसाइकल चलाउँदा बाँकेमा धेरै घटना भएको तथ्यांकले देखाएको बताउँदै उनले यस्ता क्रियाकलाप रोक्न विशेष अभियान चलाएको स्पष्ट पारे । ‘मादक पदार्थ सेवन गरि तीव्र गतिमा मोटरसाइक चलाउँदा भएका घटनालाई मध्यनजर गरि यस वर्षको होलीमा त्यस्ता घटना हुन नदिन ट्राफिक प्रहरीले विशेष चेकजाँचको नीति अवलम्न गरेको छ । मुख्य सहर, साना सहर र गाउँको ट्राफिक चुनौतिको विश्लेषण गरि चेकजाँच नीति अघि सारिएको छ,’ ट्राफिक प्रहरी प्रमुख पन्तले भने, ‘ट्राफिक नियम उलंघन गर्ने जो कोहिलाई कारवाहीको दायरामा ल्याउने जानकारी गराउँछु ।’
दुर्घटना हुने स्थानको पहिचान गरि ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाई छ । कुन ठाउँ सम्बेदनशील छ । कुन ठाउँमा ट्राफिक प्रहरी परिचालन गर्दा ट्राफिक नियम उलंघन गर्नेको संख्यामा कमी आउन सक्छ भन्ने नक्साङ्कन गरि ड्यूटीका लागि ट्राफिक प्रहरीलाई खटाइएको छ । जनपद प्रहरीसँग सहकार्य गरि ट्राफिक प्रहरीलाई ठाउँ ठाउँमा खटिइएको छ । ट्राफिक नियम उलंघन गर्ने कोहि पनि उम्कन पाउने छैनन्,’ प्रहरी निरीक्षक पन्तले भने ।
Discussion about this post