बाँके चैत १ गते ।
रंगको पर्व होलीलाई लक्षित गरि बाँके प्रहरीले जेकजाँचमा कडाई गरेको छ । सामाजिक एवम् धार्मिक सद्भाव विग्रिन नदिन बाँके प्रहरीले नेपालगन्जको १० बढि ठाउँमा चेकजाँच गर्ने ब्यवस्था मिलाएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
बाँके लगायत तराईका जिल्लामा आज होली मनाइदै छ । फाटफुट रुपमा बिहवार मनाए पनि विशेष रुपमा आज मनाउने भएको छ ।
होली मनाउने ठाउँको पहिचान गरि सुरक्षा ब्यवस्था कडा पारिएको बताउँदै एक हजार सुरक्षाकर्मी र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको एसपी कार्कीले बताए । ‘अप्रिय घटना हुन नदिन र सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।
होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले पनि सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । होलीलाई व्यवस्थित बनाउन र सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, उछृङ्खल गतिविधि गर्ने, सहमति विना लोला हान्ने जस्ता गतिविधि रोक्न प्रहरीले चेकजाँचमा कडाइ गरेको एसपी कार्कीले बताए । नेपालगन्जको धम्बोझी, बिपि चोक, ट्राफिक चोक, त्रिभुवन चोक, सदरलाईन त्रिवेनी मोड, सेतु बिक चोक, फुल्टेक्रा पुष्पालाल चोक, राँझा लगायत जिल्लाको विभिन्न स्थानमा प्रहरीले चेकजाँच गरि रहेको छ,’ उनले भने ।
नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन आग्रह गरेको छ । सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न र मादक पदार्थ सेवन गरि तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै बाँके प्रहरीले सहमति बिना अरुलाई लोला नहान्न र रंग नदल्न पनि सेचत गराएको छ । ‘होली खेल्ने ठाउँ र सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी भैरहेको छ,’ एसपी कार्कीले भने ।
Discussion about this post