बाँके चैत १ गते ।
बाँकेमा शान्तिपूर्ण रुपमा होली मनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले सौहार्द वातावरणमा होली पर्व सम्पन्न भएको बताए ।
उनले बाँकेबासीको सहयोग र सुरक्षाकर्मीको अथक प्रयासले बाँकेमा शान्तिपूर्ण रुपमा होली पर्व सम्पन्न भएको बताए । ‘होली र रमजानको जुमा एकैदिन परेकोले सुरक्षा चुनौति थियो । बाँकेबासी सहयोग र सुरक्षाकर्मीको अथक मेहनत तथा कार्यकुशलताले बाँकेमा होली र जुमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सफल भएका छौँ,’ प्रजिअ जोशीले भने ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले पनि शान्ति र सौहार्दपूर्ण वातावरणमा होली तथा जुमा सम्पन्न भएको बताए । उनले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३७ वटा मोटरसाइकल र उछृङ्खल गतिविधि गर्ने २० जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
उनले पनि होली र जुमा सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न बाँकेबासीको सहयोग एकदमै राम्रो पाएको बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा होली खेल्न हामीले अपिल गर्यौँ । बाँकेबासीले हाम्रो अपिल सुन्नु भयो र होली तथा जुमालाई सौहार्दपूर्ण बनाउन अमूल्य सहयोग गर्नुभयो ।’
मुस्लिम समाजका अगुवा एवम् सद्भाव समितिका संयोजक मेराज अहमद (हिमालय) ले बाँकेका प्रजिअ जोशी, बाँके प्रहरी प्रमुख कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, वडा प्रहरी कार्यालय नेपालगन्का इन्चार्ज अरुण बम र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तको भूमिका सह्रानिय भएको बताए । उनले आफूले देखेको र संगत गरेका प्रमुख जिल्ला अधिकारी मध्ये अहिलेका प्रजिअको भूमिका सवैभन्दा उत्कृष्ट भएको बताए ।
उनले होली र जुमालाई शान्तिपूर्ण बनाउन सिडिओले महत्वपूर्ण भूमिका खेलेकै कारण दुवै पर्व सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको स्पष्ट पारे । ‘सिडिओ सावको भूमिका चुस्त, दुरुस्त देखियो । उहाँको सुरक्षा ब्यवस्थापनमा नयाँपन महशुस भएको छ । अघिल्ला सिडिओभन्दा उहाँको सुरक्षा ब्यवस्थापन शैली एकदमै भिन्न लाग्यो,’ उनले भने ।
उनले सिडिओको भूमिका अनुकरणिय भएको समेत बताएका छन् । उहाँको निर्देशनमा बाँकेका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका एसपी लगायत सुरक्षा प्रमुखको भूमिका समेत अति उत्कृष्ट रहेको बताए ।
होलीको अवसरमा ट्राफिक ब्यवस्थापन पनि एकदमै राम्रो देखिएको छ । जाँड, रक्सी सेवन गरि सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढि बसाल्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तले बताए । उनले सवैभन्दा धेरै नेपालगन्ज र कोहलपुरबाट मोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिए ।
होलीको अवसरमा हुने दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले अति उत्कृष्ट काम गरेको नेपालगन्ज उपमहानगरपालिका ६ फुल्टेक्राका सरोज यादवले बताए । उनले चोक चोकमा खटिएका ट्राफिक र जनपद प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरेको देख्दा खुसी लागेको बताए ।
Discussion about this post