बाँके चैत ४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ शम्शेरगन्जमा एक जना युवकलाई रेविज भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ती युवकमा रेविज पुष्टि गरेको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । एक हप्ता अघि ती युवकलाई भेरी अस्पतालमा लगिएको थियो ।
पानी निल्न गाह्रो हुने, होस गुमाउने, हावादेखि डराउने, टोकेको ठाउँमा दुख्ने लगायत रेविज भाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षण चिन्ह देखिएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा लगिएको थियो । तर त्यहाँका चिकित्सकहरुले रेविज भाइरसको संक्रमण सम्भावना औल्याएपछि राप्तीसोनारी गाउँपालिकाले आफैले एम्वुलेन्सको व्यवस्थापन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाएको थियो ।
दुई वर्ष अघि ती युवक रोजगारीको शिलशिलामा भारतमा गएका थिए । उनी एक महिना अघिमात्रै घर फर्किएका थिए । उनको परिवार आर्थिक रुपमा कमजोर भएकाले पालिकाले उपचार व्यवस्थापनमा सहजीकरण गरेको छ । उनलाई उतै रेविज भाइरसको संक्रमण भएको अनुमान छ । तर लक्षण चिन्ह भने एक साता अघिदेखि मात्रै देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । युवकमा रेविजको संक्रमणको पुष्टि भएपछि सर्ने डरले परिवार तथा स्थानीयबासी त्रसित भएका छन् ।
उनीहरुका परिवार तथा स्थानीयलाई रेविज भाइरसको संक्रमणबारे आइतवार जानकारी प्रदान गरिएको केसीले बताए । राप्तीसोनारी अस्पतालका मेडिकल अधिकृत डा.मग्नीराम चौधरी र स्वास्थ्य शाखा प्रमुख केसीले परिवार तथा समाजका कुनै एउटा व्यक्तिमा रेविज भाइरस संक्रमण पुष्टि भए अन्यमा पनि सरिहाल्यो की भनेर आत्तिहाल्नु पर्ने अवस्था नहुने बताएका थिए ।
त्यसैगरी वडा अध्यक्ष शालिकराम डाँगीले पनि स्थानीयलाई त्रसित नहुन आग्रह गरे । उनले रेविज जस्ता संक्रामक रोगहरुबाट जोगिन पूर्व सावधानी अपनाउनु नै उपयुक्त विकल्प भएको बताए । यस्तै पशु चौपायाँले टोके तत्काल खोप लगाउन पनि सुझाव दिए ।
Discussion about this post