बाँके चैत ५ गते ।
बाँकेको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधारगृहमा पटक पटक झडपको स्थिति आउने गरेको छ । बालबन्दी वीच झडप मात्र हुँदैन, सुधारगृहमा रहेका बालबन्दीले सुरक्षाका लागि खटिएका नेपाल प्रहरीमाथि पनि आक्रमण गर्दै आएका छन् ।
बाल विज्याइँ गरेका अभियुक्त र अपराध पुष्टि भएका १८ वर्षभन्दा कम उमेरकालाई यहाँ राख्ने कानुनी प्रावधान छ । मुद्धा किनारा नलागेका र कैद भुक्तानी गर्न बाँकी रहेकालाई यहाँ राख्ने गरिएको छ । पक्राउ पर्ने बेला १८ वर्ष मुनीका भए पनि कैद भुक्तानी र मुद्धा किनारा लाग्दासम्म कतिपय बालबन्दीको उमेर ३० वर्षभन्दा माथि हुने गरेको छ ।
एकै ठाउँमा धेरै समय बसेका र धेरै उमेर भएका बालबन्दीले आफूभन्दा कम उमेर तथा भर्खरै आएकालाई हेप्ने, काममा लगाउने, कुटपिट गर्ने, खान र सुत्न समेत नदिने गरेका कारण यहाँ समय–समयमा दुई पक्ष वीच झडप हुने गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । ‘पुराना र उमेरमा ठूला बालबन्दीले सानालाई हेप्ने र सुधारगृह भित्र ग्रुप बनाएर अरुलाई भड्काउने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।
बाल सुधारगृहको सुरक्षाका लागि नेपाल प्रहरीको एउटा युनिट राखिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको युनिट परिचालन भए पनि त्यहाँ खटिने प्रहरी बालबन्दीको सामु निरिह हुने गरेको छ । सुधारगृह सुरक्षार्थ खटिने प्रहरीले न त नेपाल प्रहरीको पोशाक लगाउन पाउँछन् न त हातहतियार नै राख्न पाउँछन् । जसका कारण त्यहाँ कार्यरत प्रहरी बालबन्दीको दवावमा बस्नु पर्ने बाध्यता छ । ‘हातहतियार त टाढाको कुरा भयो, प्रहरीले लाठीसमेत राख्न पाउँदैन । लाठीसमेत नहुने प्रहरीहरु सुधारगृहका बालबन्दी सामु निरिह बन्नु सिवाय अर्को उपाय छैन,’ एसपी कार्कीले भने ।
डेढ वर्षअघि बालबन्दीले जयेन्दु बाल सुधारगृहमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई कुटपिट गरि घाइते बनाएका थिए । टाउकोमा गम्भिर चोट लागेका उनी बेहोर भई जमिनमा लडेपछि बालबन्दीले कुटपिट गर्न छाडेको प्रहरी श्रोतको भनाई छ । ‘बाल सुधारगृहका बालबन्दीको निर्देशनमा प्रहरी चल्नु पर्ने अवस्था छ । उनीहरुले भनेको नमान्ने र नगर्ने हो भने प्रहरीमाथि कुटपिट गर्ने, आफूसँग भएका बालबन्दीलाई उक्साएर तोडफोड गर्न लगाउने, बाहिर भाग्ने, कार्यालयमा तोडफोड गर्ने जस्ता हर्कत हुन्छन्,’ बाल सुधारगृहमा ६ महिना बसिसकेका एक सहायक प्रहरी अधिकृतले आप्mनो अनुभव सुनाए । ‘१८ वर्ष नपुगेका बालबन्दीलाई राख्न बनाइएको बाल सुधारगृहमा ३०–३५ वर्षसम्मका बन्दीलाई राख्दा लफडा हुने नै भयो,’ मानव अधिकारकर्मी भोला महतले बताए ।
उनले बाल सुधारगृहका लागि बनेको ऐन, कानुन परिमार्जन गरि नयाँ बनाउनु पर्ने बेला भएको बताए । १८ वर्ष मुनीका बालबन्दीलाई मात्र बाल सुधारगृहमा राख्ने र १८ वर्ष पूरा भएपछि कारागार पठाउने ब्यवस्था गर्न जरुरी छ,’ उनले भने, ‘बेलैमा ऐन, कानुन परिमार्जन नहुने हो भने अझै ठूला घटना नहोला भन्न सकिन्न । यसतर्फ बेलैमा ध्यान पुर्याउन आवश्यक देखिन्छ ।’
राज्यको नीतिका कारण डुडुवा गाउँपालिका ६ स्थित बाल सुधारगृहको ब्यवस्थापन फितलो हुँदा स्थानीयले समेत सास्ती खेप्न परेको छ । सुधारगृहबाट भागेका बालबन्दीहरु स्थानीयको घरमा लुकेर बस्दा स्थानीयले सास्ती खेप्न परेको हो । ‘बालबन्दी लुकेको आशंकामा प्रहरीले घर खानतलासी गर्छ । कतिपय अवस्थामा गाली गलौज समेत हुन्छ । हामी प्रहरी र बालबन्दी दुवै पक्षबाट पीडित छौँ,’ स्थानीय हेमन्तकुमार शर्माले भने ।
डुडुवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रले सुधारगृह ब्यवस्थित नगरि अहिलेको ठाउँमा संचालन गर्न नदिने स्पष्ट पारेका छन् । उनले भने, ‘सरकारले बाल सुधारगृहको राम्रो ब्यवस्थापन गर्न पर्यो । ब्यवस्थित भएन भने वडावासी आन्दोलनमा उत्रिन्छौँ,’ अध्यक्ष मिश्रले भने ।
बाल सुधार ब्यवस्थापनका लागि तीन वटै तहका सरकारले बेलैमा ध्यान दिन उनले आग्रह समेत गरेका छन् ।
Discussion about this post