बाँके चैत ६ गते ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । पछिल्ला केही वर्षयता बाँकेमा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्यामा वृद्धि हुँदै आएको छ ।
आगामी चैत ७ गतेबाट सुरु हुने परीक्षाका लागि जिल्लाका ८ वटा पालिकाका १० हजार ४१६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईंले बताए । उनका अनुसार दुई मदरसासहित १०४ सामुदायिक विद्यालय र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १७९ छात्रा र पाँच हजार २३७ छात्र गरी १० हजार ४१६ जना विद्यार्थीले परीक्षा दिने भएका हुन् ।
जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ४३ जना बाल बिज्याइँकर्ताले पनि यसवर्ष एसईई दिन लागेका छन् । डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३३ जना बाल बिज्याइँकर्ता र बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित नौवस्ता बालसुधार गृहका १० जना बाल बिज्याइँकर्ताले एसईई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिए ।
यस्तै १० वटा सामुदायिक विद्यालयका ३१५ नियमित र ५९ ग्रेड वृद्धि गरी ३७४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुनेछन् । यसवर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक–एक गरी ३६ परीक्षा केन्द्र तोकिएको छ ।
Discussion about this post