बाँके चैत १० गते ।
लागु औषध ब्राउन सुगरसहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नं.५ बुडियागाउँ बस्ने ६६ वर्षीय रम्मन खान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र लागु औषध व्यूरो नेपालगन्जको संयुक्त टोलीले खानलाई ३९ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानमाथि चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट ब्राउन सुगरसहित ४२ हजार ६५० रुपैयाँ नगद र भे ६ प ३३०७ नम्वरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम बहादुर मल्लले जानकारी दिए ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ सुईया चोकबाट ११ ग्राम ९७० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । प्रहरीले भे १२ प ५४६० नम्वरको मोटरसाइकल समेत नियन्त्रणमा लिए पनि मान्छे भने पक्राउ गर्न सकेन् ।
सशस्त्र प्रहरी बल नेपाल ३० नं.गण बाँकेको टोलीले जमुनाह गाउँबाट नेपालगन्ज तर्फ आउँदै गरेको उक्त मोटरसाइकल सवार व्यक्तिलाई रोकेर चेकजाँच गर्नेक्रममा व्यक्ति भने फरार भएका थिए ।
मोटरसाइकलको दाहिने भागको अगाडिको साइड कभरमा लुकाइ राखेको अवस्थामा प्रतिवन्धित ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको ब्राउन सुगर र मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्रले जनाएको छ ।
Discussion about this post