बाँके चैत ११ गते ।
नेपालगन्जको सुर्खेतरोडमा रोपेको फुल फुलेर भाइरल बनेपछि जस लिनेको होडबाजी चलेको छ । कोही फुल आफूले रोपेको दावी गरिरहेका छन् त कसैले फुलको स्याहार सुसार आफूले गरेको दावी गर्दै फुलेको फुल माथि राजनीति गर्न थालेका छन् ।
गर्मी याममा पानी नपाएर सुक्ने गरेको फुलको वास्ता नगर्नेहरु नेता तथा कार्यकर्ताहरु अहिले आफ्नो पनि योगदान भएको दावी गर्दै सामाजिक संजालमा स्टाटस लेख्न लगाइरहेका छन् ।
जस–अपजस लिने कुनै ठाउँ नपाएपछि एक कार्यकर्ताले फुलेको फुललाई सुन्दर देखाउन हाईमास्ट लाइटले भूमिका खेलेको दावी गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । ति कार्यकर्ताले फेसबुकमा लेखेको छन्, ‘उज्यालो न भाको भए सायद यत्रो सुन्दरता र भाइरल हुन्थिएन होला । हाइमास्ट लाइट जडानको पनि सह्रानीय कार्य हो, जुन पूर्व मन्त्री मो. इश्तियाक राई मन्त्री हुँदा जडान भाको हो । यो ३ बुदाँहरु मध्ये कुनै पनि हटाउन मिल्दैन र हटाएर पनि कल्पना गर्नुहोस् सुन्दरता सम्भव हुँदैन ।’
उनले आफ्ना नेता तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले हाईमास्ट लाइट जडान गरेका कारण फुलमा सुन्दरता थपिएको दावी गरेका छन् । उनले क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका डा. विनोद कर्णसहितको टीमको मुख्य भूमिका रहेको स्पष्ट पारे पनि पूर्व मन्त्री राईको पनि योगदान गरेको जिकिर गर्नुले फुलेको फुलमाथि पनि राजनीति सुरु भएको स्पष्ट हुन्छ । ‘काम गर्ने कालु, जस पाउने भालु’ भन्ने उखान यहाँ चरितार्थ भएको छ । ‘फुलमाथि पनि राजनीति सुरु भएको छ । रोप्ने, स्याहार, सुसार गर्ने एउटा छ जस अर्कैले लिने प्रयास भइरहेको छ,’ नेपालगन्जका एक जना नागरिक अगुवाले भने ।
क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जको टीमले फुल रोपेपछि यसको स्याहार, सम्भार नेपालगन्ज उपमहानगरका तत्कालिन मेयर डा. धवल शमशेर राणाको टीमले गरेको थियो । उनकै पालामा नेपालगन्जका विभिन्न ठाउँमा विभिन्न जातका फुल रोप्ने काम समेत भएको थियो । डा. राणाको अभियानमा नेपालगन्जका हालका मेयर प्रशान्त विष्टले पनि निरन्तरता दिएका छन् ।
त्यसैले फुल रोप्ने, गोडमेल तथा स्याहार सुसार गर्नेले यसको जस लिने स्वभाविक भए पनि यो या त्यो बहानामा जस लिन खोज्नु सुहाउँदो नभएको नेपालगन्जका एक अगुवाले बताए । ‘फुल दिउँसोमा पनि सुन्दर देखिन्छ र दिउँसोको समयमा पनि फोटो खिचाउने र भिडियो बनाउनेहरु देखिन्छन्, तर यहाँ त बत्तिका कारण फुल राम्रो, सुन्दर देखियो भन्दै जस लिन खोजिदै छ । यो कुनै अर्थमा सुहाउँदो छैन,‘ ति अगुवाले भने ।
Discussion about this post