बाँके चैत ११ गते ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रमा आज सोमबारबाट निर्माणको काम सुरु भएको छ । औद्योगिक क्षेत्रको काम सुरु गर्न बैजनाथ गाउँपालिकामा भएको सर्वपक्षीय छलफल पछि सोमवारदेखि निर्माणको काम सुरु भएको हो ।
प्रशासन, जनप्रतिनिधि, औद्योगिक क्षेत्र र स्थानीयसहितको सहमतिमा निर्माणको काम अगाडी बढेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहले बताउनु भयो । स्थानीयको विरोधका बाबजुद निर्माणको काम अगाडी बढाइएको उहाँले बताउनु भयो । यसअघि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वपक्षीय छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सोमबारबाट काम अघि बढाउन निर्देशन दिनु भएको थियो ।
औद्योगिक क्षेत्र निर्माणका लागि छुट्याइएको तीन सय ३८ बिगाह क्षेत्रमा दुई सय ६८ वटा घरधुरीको बसोबास छ । सरकारले नौबस्तामा औद्योगिक क्षेत्रको घोषणा गर्नु अघिदेखि बसोबास गर्दै आएका ती स्थानीयले सुरुवातदेखि नै अवरोध गर्दै आएका छन् । औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन खोज्दा अवरोध हुने क्रम नरोकिएपछि निकास खोज्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक बाँके आएर सर्वपक्षीय बैठकको आयोजना गर्नु भएको थियो ।
पहिलो चरणमा घरटहरालाई कुनै प्रभाव नपर्ने गरि सडक निर्माण गर्ने र घेरबारको काम अघि बढाउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको योजना छ । यसअघि पनि राजनीतिक दलहरूले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउन ऐक्यबद्धता जनाए पनि फिल्डमा काम अघि बढाउन खोज्दा राजनीतिक दलकै कार्यकर्ताहरूको अवरोध गर्दै आएका थिए ।
आर्थिक वर्ष २०७७–७८ देखि पाँच वर्षभित्र अर्थात् २०८२–८३ सालभित्र औद्योगिक क्षेत्र निर्माण सक्ने गरी लक्ष्य तोकिएकोमा हालसम्म डीपीआर गर्ने बाहेक अन्य कुनै काम अघि बढ्न सकेको छैन् । नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ तीन सय उद्योग स्थापना हुने भएका छन् ।
उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाको पाँच सय २५ विगाहामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा नेपाल सरकारले गरेको छ । पछि २०७३ जेठ २७ गते नाँपजाँचपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तीन सय ३८ बिगाहको जग्गाधनी पुर्जा प्राप्त भएको छ ।
औद्योगिक क्षेत्रमा उद्योगहरूलाई चाहिने बाटो, बिजुली र पानी, औद्योगिक क्षेत्रमै उद्योग दर्ता, कर कार्यालय र भन्सार कार्यालय स्थापना गर्न मिल्नेगरी संरचनाहरू बनाइने भएको छ । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि तीन सय ५० बढी उद्योगी व्यवसायीले आशयपत्रसमेत दर्ता गरिसकेका छन् । औद्योगिक क्षेत्रमा ५ वर्षसम्म जमिनको भाडा नलिने, पानी र बिजुलीमा सहुलियत सहित लगानीकर्तालाई सहज वातावरण बनाउने लक्ष्य लिइएको छ ।
Discussion about this post