बाँके चैत १२ गते ।
बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ५९० जना क्षयरोगीका बिरामी फेला परिसकेका छन् । यो माघ महिनासम्मको तथ्यांक हो । तीमध्ये महिला २४३ जना र पुरुष ३४७ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्र साहले जानकारी दिए । उनका अनुसार १४ वर्ष मुनिका ११६ जना छन् भने बाँकी ४७४ जना १५ वर्षमाथिका हुन् ।
क्षयरोगी पुष्टि भएकाहरुको एचआभी समेत परीक्षण गर्ने गरिएको उनले बताए । क्षयरोग पुष्टि भएकामध्ये ५४८ जनाको एचआइभी परीक्षण गर्दा ८ जनामा पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुले एआरटी सेवा लिन सुरु गरिसकेको पनि उनले बताए । आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा १ हजार १८२ जना क्षयरोगीका बिरामी फेला परेका थिए ।
तीमध्ये ४९६ जना महिला र ६८६ जना पुरुष थिए । १४ वर्ष मुनिका २६८ जना थिए भने ९१४ जना १५ वर्षमाथिका थिए । क्षयरोग पुष्टि भएकामध्ये १ हजार १४० जनाको एचआइभी परीक्षण गर्दा ९ जनामा एचआइभी पोजेटिभ देखिएको थियो । यस्तै आर्थिक वर्ष २०७९।०८० मा १ हजार १०२ जना क्षयरोगीका बिरामी फेला परेका थिए ।
तीमध्ये ४५३ जना महिला र ६४९ जना पुरुष रहेका थिए । १४ वर्ष मुनिका २३३ जना बालबालिकामा क्षयरोग देखा परेको थियो भने ८६९ जना १५ वर्षमाथिका थिए । ९४९ जनामा एचआइभी परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको थियो । स्वास्थ्यकर्मीहरुको सक्रियता बढेसँगै समाजमा क्षयरोगीका बिरामीहरु फेला पर्ने क्रम बढेको साह बताउँछन् । यो रोगको परीक्षण र उपचार निः शुल्क हुने गरेको छ ।
Discussion about this post