बाँके चैत १२ गते ।
आगलागीमा परि बाँकेको नरैनापुर गाउँपालिका ४, जयरामपुर्वाका १७ भन्दा बढि घरगोठ जलेर नष्ट भएका छन् । आज दिउँसो करिव ३ बजेबाट सुरु भएको आगलागीमा परि १७ भन्दा बढि घरगोठ जलेर नष्ट भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनलाइन खोजखवरलाई जानकारी दिए ।
स्थानीय जुमाई खाँको घरबाट सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिने प्रयास गरे पनि नसकेपछि नेपालगन्जबाट गएको दमकलको सहायतामा आगो नियन्त्रणमा आएको उनले बताए । आगलागीबाट करिव २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनको भनाई छ । ‘आगलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ । विवरण संकलन भएपछिमात्र एकिन क्षति भन्न सकिने अवस्था छ,’ प्रजिअ जोशीले भने ।
दिउँसो गर्मी सँगै चलेको हावाका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिए । उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए, तर दिउँसोको समय भएकोले चाँडै नियन्त्रणमा लिन सकिएन ।’
फुसका घर र एक आपसमा जोडिएका गोठ तथा तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन समस्या परेको अध्यक्ष शाहले बताए । ‘छिनभरमा १७ घरगोठ जलेर नष्ट भए । नियन्त्रणमा लिन खोज्दाखोज्दै सम्भव भएन,’ उनले भने ।
आगलागी बारे बुझ्न गाउँपालिका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपद शाखा प्रमुख भरत महतोसहितको टोलीले घटना स्थलमा पुगेर जानकारी लिएका छन् । ‘विभिन्न निकायसँगको समन्वयमा बास र खानाको ब्यवस्था मिलाइएको छ,’ उनले भने ।
Discussion about this post