बाँके चैत १३ गते ।
अपांगता परिचयपत्र वितरणलाई सहज बनाउन एकरुपता कायम गर्न सम्वद्ध सरोकारवालालाई सुझाव दिइएको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशिकरण उपशाखाले अपांगता परिचयपत्र वितरण कार्यविधि विषयक अन्तरपालिका समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त सुझाव दिएका हुन् ।
मंगलबार कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको अध्यक्षता तथा नगर उपप्रमुख संगीता सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । सुवेदीले बाँके जिल्लामा अपांगता परिचयपत्र वितरण र अन्य अपांगता सम्बन्धि समस्याहरूलाई समाधान गर्न एकरूपताका साथ अघि बढ्ने कुरामा जोड दिइन् ।
एउटै प्रक्रितिका अपांगता भएका व्यक्तिले पनि फरकफरक वर्गको परिचयपत्र पाउने समस्या रहेकाले यसको समाधान गर्न एकरूपता हनुपर्ने उनको भनाइ छ । बाँके जिल्लाका ८ वटा पालिकाबीच समन्वय गरेर एउटै कार्यविधि बनाई अपांगता भएका व्यक्तिलाई राज्यले दिने सेवा सुविधा विशेष प्रथामिक्ता दिएर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी थिइन् । बाँकेमा एकरूपता भए अपांगता सम्बन्धी काम गर्न सहज हुने समेत उनले जानकारी दिइन् ।
अपांगता परिचयपत्र वितरण कार्यविधि बनेको भएपनि धेरै गुनासो आउने गरेकाले त्यसको समाधान गर्न कसरी सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका तथा समावेशिकरण उपशाखा प्रमुख घटना शाहले बताइन् । उनका अनुसार अन्य पालिका कुराहरुलाई ल्याएर वादविवाद हुने र थेग्न नसक्ने गुनासो आउने भएकाले यसलाई समाधान गर्न सबै स्थानीय तहबीच कार्यविधिमा छलफल गरेर एकरूपता बनाई अघि बढ्नुपर्ने कुरामा उनले पनी जोड दिइन् ।
छलफलमा ८ वटै स्थानीय तह उपप्रमुख तथा उपाध्यक्ष, महिला बालबालिका प्रमुख र अपांगता समिति सदस्यहरुले कार्यविधि संशोधन गनुपर्नेमा जोड दिएको सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माले बताए ।
परिचयपत्र वितरण गर्दा दयामाया र कसैको दबावमा नभई अपांगताको शारिरीक परिक्षणका आधारमा प्रदान गर्ने, आगामी दिनमा यस विषयमा बृहत छलफल गर्ने, कार्यविधि संशोधन गर्ने र प्रदेश स्तरको सरोकारवालसँग समिक्षा गर्ने निकर्ष रहेको उनले जानकारी दिए । कार्यक्रममा राप्तीसोनारी, नरैनापुर, बैजनाथ गाउँपालिकाका उपाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
Discussion about this post