बाँके चैत १४ गते ।
कोहलपुर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणका लागि निस्सा वितरण तथा जग्गा नापजाँचको कामलाई तीब्रता दिएको छ । जिल्ला भूमि आयोगले पूर्णता पाएसँगै रोकिएका निस्सा वितरण तथा जग्ग नापजाँचको कामलाई तीब्रता दिइएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।
बुधवार वडा नंं. ७ मा निस्सा वितरण तथा जग्गा नापजाँच कार्यको सुभारम्भ गर्दै उनले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने विश्वास दिलाए । ‘निस्सा वितरण र जग्गा नापजाँचको काम पहिल्यैं सकिसक्थ्यो नगर प्रमुख आचार्यले भने–‘सरकार परिवर्तनसँगै आयोग भंग भयो । हाम्रो काम पनि बीचमा रोकियो । अहिले भूमि आयोगले पूर्णता पाएको छ । कामहरु पुनः सुरु भएका छन् ।
निस्सा वितरण र जग्गा नापजाँचको कामलाई पूर्णता दिएलगत्तै जग्गाधनी लालपूर्जा वितरणको काम सुरु गरिनेछ ।’ नगर उपप्रमुख संगिता सुवेदीले वर्षौदेखि जोतभोग गर्दै आएपनि जग्गाधनी पूर्जा नपाउदाको पीडा अव हल हुने बताइन् । ‘लामो समयदेखिको भूमिहीन समस्या समाधानका लागि हाम्रो अथक प्रयास छ उनले भनिन्–‘अव ढुक्क हुनुहोस् तपाईले जोतभोग गर्दै आएको जग्गाको मालिक तपाई नै भएको पूर्जा प्राप्त गर्नुहुनेछ । निस्सा वितरण र जग्गा नापजाँचको काममा नगरपालिकाबाट खटिएका प्राविधिकहरुलाई सहजीकरण गरेर सहयोग गरिदिनुहोस् ।’
वडा अध्यक्ष ठग्गा थारुले भूमिहीन समस्यालाई अव दीर्घकालिनरुपमा समाधान गर्ने गरी काम भइरहेकाले सबै वडाबासीले सहयोग गर्नुपर्ने बताए । वडा नं.७ मा ७८९ वटा निस्सा वितरण गरिने छ । निस्सा वितरणपछि जग्गा नापजाँचको काम सुरु गरिने अमिन गोविन्द केसीले बताए । कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये वडा नं.६ बाहेक अन्य सबै वडामा निस्सा वितरण र जग्गा नापजाँचको काम करीव पूरा भइसकेको केसीले जानकारी दिए ।
कोहलपुर नगरपालिकामा ५९८ भूमिहीन दलित, ८५० भूमिहीन सुकुम्बासी तथा १६ हजार ७०० घरधुरी अव्यवस्थित बसोबासी रहेका छन् । वडा नंं.१ मा जग्गा नापजाँचसँगै फिल्ड बुक तयार भइ जग्गाधनी पूर्जा वितरणको अन्तिम तयारी समेत भइसकेको छ । ७ दिनको हकदावी सम्वन्धी सूचना समेत पूरा भएर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी १४१ जनालाई जग्गाधनी प्रमाणपत्र वितरणको अन्तिम तयारीमा रहेको पनि केसीले बताए ।
यस्तै वडा नं.२ मा पनि फिल्डबुक करीव तयारी अवस्थामा छ । कोहलपुर नगरपालिका वडा नं.१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीगरी १ हजार ३६५ घरधुरीको १ हजार ४६ कित्ता जग्गा नापजाँच भएको गरिएको फिल्ड सहायक प्रभुमान थारुले जानकारी दिए । यस्तै वडा नंं.२ मा ३ हजार १०२ घरधुरीको ३ हजार ५०० कित्ता, वडा नंं.३ मा १ हजार ६६६ घरधुरीको २ हजार ६०० कित्ता, वडा नंं.४ मा ६७१ घरधुरीको १५३ कित्ता नापजाँच भएको छ ।
यस्तै वडा नं.५ मा ९६८ घरधुरीको १ हजार ९७ कित्ता, वडा नंं. ८ मा ५१६ घरधुरीको ९०० कित्ता, वडा नं. १० मा एक हजार ५ घरधुरीको एक हजार १५० कित्ता, वडा नं.११ म एक हजार २०० घरधुरीको १ हजार १० कित्ता, वडा नं. १२ मा १ हजार ६६० घरधुरीको २ हजार ८०० कित्ता, वडा नं. १३ मा १ हजार २२५ घरधुरीको ७०० कित्ता, वडा नंं. १४ मा ८०० घरधुरीको १ हजार ११ कित्ता र वडा नं. १५ मा ९५० घरधुरीको २ हजार ५०० कित्ता जग्गा नापजाँच गरिएको छ । वडा नंं. ७ मा ‘निस्सा वितरण र जग्गा नापजाँचको काम भइरहेकोले त्यसको विवरण आउन केही दिन लाग्छ अमिन केसीले भने–‘वडा नंं. ६ मा काम गर्न बाँकी छ ।’
Discussion about this post