बाँके चैत १४ गते ।
विगत ३० वर्षदेखि बस्दै आएको जमिनमा नौवस्ता औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले सडक बनाउने नाममा डोजर चलाएपछि बैजनाथ गाउँपालिका ३ सुकुम्बासी बस्तीकी विमला शाही कुरा गर्दागर्दै भक्कानिन । नौवस्ता औद्योगिक क्षेत्र ब्यवस्थापन कम्पनीले जोतभोग गर्दै आएको जमिन आफ्नो क्षेत्रभित्र पारेपछि उनको आँखाबाट आँशु थामिएको छैन । उनी आफ्नो परिवारको विचली हुने बताइन् ।
नौवस्ता औद्योगिक क्षेत्रले उपभोग गर्दै आएको जमिन आफ्नो क्षेत्रभित्र पारेपछि बैजनाथ गाउँपालिका वडा नम्बर ३ का बल्लुब टमटाको पनि मन विरक्त भएको छ । राजनीतिक दल र जनप्रतिनिधिले आफूहरुको विचल्ली बनाएको बताए । सरकारले आफूहरुलाई शरणार्थीको रुपमा बनाउन थालेको दुखेसो पोखे ।
नौवस्ता २ र ३ मा पर्ने नौबस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको छ । सुकुम्वासीको नाममा विभिन्न जिल्लाबाट आएकाहरु औद्योगिक क्षेत्रको जमिनमा घरटहरा बनाएर बसोबास गरेपछि औद्योगिक क्षेत्रको क्षेत्रफल खुम्चिएको हो ।
गत सोमबारबाट पहिलो चरणको काम थालिएको औद्योगिक ब्यवस्थापन लिमिटेडका महाप्रवन्धक पदम ओलीले जानकारी दिए । उनले सोमवारदेखि औद्योगिक क्षेत्रको सिमांकन गर्ने काम अगाडी बढेको बताए । ‘बैजनाथ गाउँपालिकाले गरेको निर्णय अनुसार औद्योगिक क्षेत्रको वरिपरि सडकको ट्रयाक खोल्ने काम सुरु भएको छ । ट्रयाक खोल्ने काम सकिए लगत्तै तारवार गर्ने योजना छ,’ उनले भने ।
उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाको पाँच सय २५ विगाहामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा नेपाल सरकारले गरेको थियो ।
संघीय सरकारले १ चैत, ०७२ मा सात वटै प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले एक हजार विघा क्षेत्रफलमा नौवस्ता औद्योगिक क्षेत्र बनाउने निर्णय गरे सँगै २७ जेठ, २०७३ मा औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडलाई पाँच सय ३८ विघा जमिन उपलब्ध गराएको थियो ।
उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाको पाँच सय ३८ विगाहामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा नेपाल सरकारले गरे पनि दुई सय ५२ विघामा खुम्चिएको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका महाप्रवन्धक ओलीले बताए ।
औद्योगिक क्षेत्र निर्माणका लागि छुट्याइएको तीन सय ३८ बिगाह क्षेत्रमा दुई सय ६८ वटा घरधुरीको बसोबास छ । सरकारले नौबस्तामा औद्योगिक क्षेत्रको घोषणा गर्नु अघिदेखि बसोबास गर्दै आएका ती स्थानीयले सुरुवातदेखि नै अवरोध गर्दै आएका छन् । नौवस्ता औद्योगिक क्षेत्रले आफूहरुको विचल्ली बनाएको करुणा चन्द्रले बताइन् ।
पहिलो चरणमा घरटहरालाई कुनै प्रभाव नपर्ने गरि सडक निर्माण गर्ने र घेरबारको काम अघि बढाउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको योजना छ । नाप नक्सा गरेको ठाउँभन्दा फरक ठाउँमा डोजर चलाउँदा तरकारी र गहुँ बाली नष्ट भएको स्थानीय फिरिया थारुले बताइन् ।
नौवस्ता औद्योगिक क्षेत्रले आफ्नो क्षेत्रको जमिन सडक मार्फत नक्सांकन गर्न थालेपछि वर्षौँदेखि भोग चलन गर्दै आएका सुकुम्बासीहरु चिन्तित बनेका छन् । औद्योगिक क्षेत्रले बस्ती जोगाएर नक्सांकन गरिरहेको छ ।
Discussion about this post