बाँके चैत १४ गते ।
बाँके प्रहरीले पछिल्लो समय लागु औषध धमाधम बरामद गरिरहेको छ । बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको कडा निर्देशन पछि जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी एकाईले लागु औषध धमाधम बरामद गरेका हुन् ।
बाँकेको प्रमुख नेपालगन्ज नाका लागु औषध ओसारपसार तथा सेवन गर्नेको ट्रान्जिट प्वाइन्टको रुपमा विकास भएपछि बाँके प्रहरी प्रमुख एसपी कार्कीले लागु औषध नियन्त्रण गर्न मातहतका प्रहरी एकाईलाई कडा निर्देशन दिएका हुन् । उनकै निर्देशनपछि नेपालगन्ज नाका लगायत सहायक नाका र विभिन्न क्षेत्रमा लागु औषध ओसारपसारमा संलग्न ब्यक्ति तथा प्रयोगकर्ता पक्राउ परिरहेको बाँके प्रहरीले जनाएको छ ।
लागु औषधका कारण युवा वर्ग लागु औषधको दलदलमा फस्न थालेपछि यसको नियन्त्रणमा कडाई गरिएको एसपी कार्कीले बताए । ‘लागु औषध नियन्त्रणका लागि शुक्ष्म तरिकाले अनुसन्धान गर्न र तदारुकताका साथ काम गर्न मातहतका प्रहरी एकाईलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘अन्य अपराध नियन्त्रण जस्तै लागु औषध नियन्त्रणलाई पनि अभियान थालिएको छ ।’
लागु औषध नियन्त्रणलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँदै उनले फागुन महिनामा मात्र एक किलो १०६ ग्राम ४१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको अनलाइन खोजखवरलाई जानकारी दिए । ‘मातहतका प्रहरी एकाईलाई निर्देशन दिएपछि लागु औषध ओसारपसार र प्रयोगकर्ताहरु धमाधम पक्राउ परिरहेको अवस्था छ,’ उनले भने ।
युवा शक्ति लागु औषधको दलदलमा फसेका कारण देशको विकासमा समेत असर परेको उनको भनाई छ । उनले बाँकेबाट लागु औषध अन्य जिल्लामा जाने गरेको अनुसन्धानबाट खुलेको बताए । ‘लागु औषधले बाँकेमात्र तहस नहस भएको छैन । यहाँको प्रभाव सिंगो लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा परेको छ,’ उनले भने ।
यसैवीच, बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित विहीवार दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका परिवर्तन गाउँपालिका ३, रोल्पाका ३१ वर्षीय भुपेन्द्र बुढामगर र माडी गाउँपालिका ३, रोल्पाकी ३० वर्षीया सम्झना घर्तीमगरलाई ५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकी र लागु औषध नियन्त्रण ब्यूरो दाङको टोलीले उनीहरुलाई ५० ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको उनले बताए । ‘सम्झनासँगै नेपालतर्फ आउँदै गरेका भुपेन्द्रको शरिर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो फेला परेको थियो,’ एसपी कार्कीले भने । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको उनले जानकारी दिए ।
Discussion about this post