बाँके चैत १६ गते ।
बाँकेमा ४३ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउने उद्देश्यका साथ अघि बढेको राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनाको ४१ प्रतिशत काम पूरा भएको छ । आर्थिक बर्ष २०६२÷६३ देखि सिक्टा सिँचाई आयोजनाको काम सुरु भएको थियो । पहिलो पटक १२ अर्बको गुरुयोजना स्वीकृत भएर काम अघि बढेको थियो ।
उक्त गुरुयोजनामा राप्तीसोनारी–२ अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने कार्य योजना मात्रै थियो । बिस्तारै आयोजनाको कार्य क्षेत्र बढ्दै गयो । पूर्वी नहर पनि थपियो । त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा÷प्रशाखाहरू थप हुँदै गए । राप्ती नदीबाट कमाण्ड एरियालाई जोगाउन नदी नियन्त्रणका कामहरू पनि थपिँदै गए । दोस्रो पटक २०७४ सालमा २५ अर्बको गुरुयोजना स्वीकृत भयो ।
पछिल्लो पटक फेरि २०७९ सालमा ५२ अर्बको गुरुयोजना स्वीकृत भएको छ । त्यसै अनुसार अहिले सिक्टा सिँचाई आयोजनाले काम गरिरहेको आयोजना निर्देशक राजु आचार्यले बताए । “अहिलेसम्म २१ अर्ब बराबरको ४१ प्रतिशत काम भइसकेको छ । तर, यसैलाई सुरुको लागतसँग तुलना गर्दा भने शतप्रतिशत भन्दा बढी काम भएको छ । दोस्रो गुरुयोजनासँग तुलना गर्दा पनि करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ,” निर्देशक आचार्यले भने– “कार्य क्षेत्र बढ्दै जाँदा यसको प्रगति घटेको देखिन्छ, त्यसकारण जनमानसमा आयोजनाको प्रगति न्यून भयो भन्ने गुनासो छ, तर वास्तविकता फरक छ ।” अहिले पूर्वी नहर र पश्चिम नहर दुवै चलिरहेको छ ।
किसानले सिँचाई सुविधा पाएका छन् । पूर्वी नहर पूरै ५२ किलोमिटर बन्न बाँकी भए पनि ४२ किलोमिटर निर्माण भएर पानी पुगिसकेको छ । किसानले पानी पाइरहेका छन् । पश्चिम नहर पनि ५० किलोमिटर निर्माण भइसकेको छ । “सिधनिया शाखामा फुल फ्लेजमा पानी चलिरहेको छ, अकलघरुवामा पानी चलेको छ,” आचार्यले भने–“डुडुवा खोलाबाट पानी आउने पुरानो प्रणाली छ । त्यसमा सिक्टाले मूल नहरको पानी दिने योजना अनुसार पानी चलिरहेको छ तर त्यो जीर्ण र पुरानो भएकाले आधुनिकीकरण र पुनःस्थापना गर्न भर्खरै टेण्डर गरेका छौँ । पश्चिम क्षेत्रमा सबैभन्दा ठूलो कमाण्ड डुडुवाकै छ ।
पश्चिमको कमाण्ड एरिया ३२ हजार हेक्टर मध्ये १६ हजार डुडुवाकै छ ।” कतिपय ठाउँमा किसानहरुले पम्पसेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैँले पनि चार वटा लिफ्ट सिँचाई बनाइदिएको छ । नहरको पानी नपुग्ने अग्लो ठाउँमा बनाउन थालिएको लिफ्टको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पूर्वी नहरमा पनि फत्तेपुर कमाण्ड एरियामा २००० हेक्टरका लागि पानी दिइसकेको छ । पुरानो राजकुलोमा पनि पानी चलिरहेको छ । त्यहाँ पनि आधुनिकीकरण र पुनःस्थापनाको काम भइरहेको छ ।
४३ हजार हेक्टरमा सिँचाई सुविधा पु¥याउने उद्देश्य रहेकोमा अहिले २१ हजार हेक्टरमा आंशिकरुपमा सिँचाई भइरहेको छ, आयोजना निर्देशक आचार्य भन्छन्, सिक्टाप्रतिको नकारात्मक धारणा हटाउनु अहिले ठूलो चुनौती छ, बस्ती विकासको प्रवृत्तिलाई व्यवस्थित गरेर सिञ्चित क्षेत्र जोगाउन पनि चुनौती नै छ, निकुञ्ज क्षेत्रमा वातावरणमैत्री काम गर्नुपर्नेछ । मुआब्जा पनि आयोजनाको प्रमुख चुनौतीकै रुपमा देखिएको छ । आचार्यका अनुसार गुरुयोजनामा करिब ४४० हेक्टरमा मुआब्जा दिने उल्लेख छ । करिब १७० हेक्टरको मुआब्जा वितरण पनि भइसकेको छ ।
तर, मुआब्जालाई पनि क्रमशः न्यूनीकरण गर्दै जाने नीति आयोजनाको छ । “बाँध र मूल नहरमा हामीले मुआब्जा दिइसक्यौँ, अब शाखा÷प्रशाखाहरू जहाँ सानो÷सानो नहर बन्छ त्यस्तो ठाउँमा मुआब्जा हटाउने नीति छ,” आचार्यले भने–“निश्चित मापदण्ड बनाएर खेतीयोग्य र धेरै जमिन जानेको हकमा मुआब्जा दिने तर अन्यको हकमा निरुत्साहित गर्ने लक्ष्य छ ।” स्वीकृत पछिल्लो गुरुयोजना अनुसार आर्थिक बर्ष २०८९÷९० मा सिक्टा सिँचाई आयोजनाको काम सक्ने लक्ष्य छ ।
तीन चरणमा काम बाँडिएकोमा अहिले दोस्रो चरण चलिरहेको छ । आयोजना निर्देशक आचार्यका अनुसार आर्थिक बर्ष २०८२÷८३ सम्म दोस्रो चरण चल्छ । त्यसपछि बाँकी ५ वर्षको तेस्रो चरण हुन्छ । तेस्रो चरणमा पश्चिम नहरको विस्तार गर्ने काम, पूर्वी नहर अन्तर्गत नरैनापुर क्षेत्रको पूरै काम बाँकी छ । बजेट पनि चुनौतीकै रुपमा छ । चालू आर्थिक वर्षमा १ अर्ब ५५ करोड विनियोजन भएको छ । तर, गुरुयोजना अनुसार ३ अर्ब हुनुपर्ने हो ।
यसले पनि वार्षिक लक्ष्य हासिल गर्न चुनौती थपिदिएको उनको भनाइ छ । आकाशे खेतीको भर पर्नुपर्ने बाँकेवासीका लागि बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यका साथ निर्माणाधीन सिक्टा सिँचाई आयोजना यस क्षेत्रका लागि बरदान साबित हुने विश्वास लिइएको छ ।
Discussion about this post