बाँके चैत १८ गते ।
बाँकेका इस्लाम धर्मावलम्बीले आज बिहान नेपालगंजस्थित इदगाहमा सामुहिक नमाज वाचन गरेका छन् । एक महिनासम्म निराहार ब्रत बसेका इस्लाम धर्मावलम्बीले सोमवार नेपालगंजस्थित इदगाहमा सामुहिक नमाज बाचन गरेका हुन् ।
इदगाहमा बाँकेका १० हजार बढी इस्लाम धर्मावलम्बीले सामुहिक नमाज वाचन गरेको जामा मस्जिद इदगाह संचालक समितिका कार्यबहाक अध्यक्ष अय्युब सिद्धिकीले जानकारी दिए । नमाजमा सहभागी हुनेको संख्या बिगतका वर्ष भन्दा यस वर्ष बढेको उनले बताए । ’सभ्य, भब्य र शान्तिपूर्ण रुपमा नमाज पढ्ने कार्य सम्पन्न भएको छ,’ उनले भने ।
सामुहिक नमाजमा पूर्व मन्त्रि मोहम्मद इस्तियाक राई, नेपालगंज उपमहानगरका उप–मेयर कमरुद्धिन राई, इस्लाम धर्म गुरु, समाजसेवी, उद्योगी, ब्यबसायी लगायतको सहभागिता रहेको थियो । ’विशिष्ट व्यक्तिसमेतको सहभागितामा हर्षोल्लासका साथ नमाज पढ्ने काम सम्पन्न गर्न सफल भएका छौं,’ उनले भने ।
सामुहिक नमाज पछि इस्लाम धर्मावलम्बीले गला मिलाएर शुभकामना आदान प्रदान गरे । इस्लाम धर्मावलम्बीसंग शुभकामना आदान प्रदान गर्न लुम्बिनी प्रदेसका आन्तरिक तथा कानुन मन्त्रि आदेश अग्रवाल, नेपालगंज उप–महानगरका मेयर प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति शोभाकर खनाल, राजनीतिक दलका नेता लगायत सर्वसाधारण बिपी चोक पुगेका थिए ।
सामुहिक नमाजमा नेपाल र नेपालीको सुख, शान्ति, समृद्धिको कामना समेत गरिएको थियो । ’सामुहिक नमाजमा मुस्लिमको सुख, शान्ति, समृद्धिको मात्र कामना गरिदैन, सिंगो मानब जातिको कल्याण तथा सिंगो देसको समृद्धिको कामना गरिएको छ,’ उनले भने ।
Discussion about this post