तुलसीपुर चैत १९ गते ।
२०११ सालदेखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा तीन महिनापछि जहाज आएको छ । नेपाल वायुसेवा निगमको जहाजले २०८१ पुस २ गते अन्तिम उडान गरेको थियो । तीन महिनापछि सोमबार बिहान ११.३० मा अवतरण गरेको जहाजले दुई यात्रु लिएर उडेको छ ।
नेपाल एयरलाइन्सका तुलसीपुरका प्रतिनिधि बलबहादुर सुनारका अनुसार निगमका जहाज मर्मतपछि सोमबारदेखि नियमित उडान भरेको हो । उहाँका अनुसार काठमाडौँबाट ११ जना यात्रु लिएर आएको विमानमा दाङबाट दुई जना यात्रु लिएर फर्किएको छ ।
अब भने प्रत्येक हप्ता सोमबार र बिहीबार उडान गर्नेछ । टरिगाउँ विमानस्थलमा २०११ सालदेखि २०४२ सालसम्म नियमित उडान हुँदैआएको थियो। २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको यस विमानस्थलमा २०७० सालमा धावनमार्ग कालोपत्रे भएपछि पुनः उडान सञ्चालन भएको थियो। २०७२ जेठ १४ गतेदेखि एक वर्ष गोमा एयरले उडान भरेको थियो, सीता एयरले सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो। पछिल्लो समय हप्तामा एक दिन मात्रैउडान हुँदै आएकोमा हाल दुई महिनादेखि पूर्ण रूपमा उडान अवरुद्ध भएको छ।
टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पारिएको छ। विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनले बताए ।
Discussion about this post