बुटवल चैत २६ गते ।
लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ ।
हालसम्म ८३२ किलोमिटर पक्की नहर निर्माण सम्पन्न भएका छन् । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत १०७ वटा आयोजना सञ्चालनमा छन् । जसमा चालु आर्थिक वर्षमा दुई वटा नयाँ योजना थपिएका छन् । सिँचाइ पहुँच विस्तारका लागि स्यालो र डिप ट्युबवेल जडानमा समेत जोड दिइएको छ । अहिलेसम्म ७५९ वटा स्यालो ट्युबवेल र २३२ वटा डिप ट्युबवेल जडान भइसकेका छन् ।
पम्प हाउसको सङ्ख्या ३८६ पुगेको छभने सिँचाइ प्रयोजनका लागि ८२ वटा आयोजना विद्युतीकरण गरिएका छन् । पाइपलाइन विस्तार कार्यअन्तर्गत ७४७ किलोमिटर पाइपलाइन बिछ्याइएको मन्त्रालयले जनाएको छ । प्रदेशभर थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याइएको छभने ७३ हजार ७६८ हेक्टर क्षेत्रमा सिँचाइ संरचनाको सुदृढीकरण गरिएको छ ।
नदी नियन्त्रणतर्फ २११ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ, जसबाट दुई हजार ६३२ हेक्टर जमिन उकासिएको तथा १४ हजार ११९ हेक्टर जमिन र १७ हजार ४९८ घरधुरी सुरक्षित गरिएको छ । लुम्बिनी प्रदेशमा ५५ प्रतिशत भू–भागमा सिँचाइ सुविधा विस्तार भएको प्रदेश सरकारले जनाएको छ ।
कुल सिँचाइयोग्य जमिनमध्ये ३३ प्रतिशत भू–भागमा मात्र बाह्रै महिना सिँचाइ सेवा उपलब्ध रहेको छ । प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कृषिमा उत्पादन वृद्धि गर्दै आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन सोचअनुरूप सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।
मन्त्रालयअन्तर्गत सिँचाइ पूर्वाधार निर्माण, जलस्रोतको संरक्षण तथा प्रकोप व्यवस्थापनसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । प्रमुख योजनाहरूअन्तर्गत दाङ जिल्लाका लागि प्रगन्ना सिँचाइ योजना र कपिलवस्तुको बाणगङ्गा सिँचाइ योजना सञ्चालनमा छन् । यिनको व्यवस्थापन र मर्मतका लागि छुट्टाछुट्टै सिँचाइ व्यवस्थापन कार्यालय स्थापना गरिएको छ । प्रदेश सरकारले सिँचाइ पूर्वाधार सुदृढीकरणमार्फत कृषि उत्पादकत्व वृद्धि, खाद्य सुरक्षाको स्थायित्व र वातावरणीय दिगोपनाको लक्ष्य लिएको स्पष्ट पारेको छ ।
Discussion about this post