बाँके चैत २७ गते ।
बाँकेका कतिपय स्थानीय तहमा आगलागी भयो भने तत्काल आगो निभाउन सकिने अवस्था छैन । बाँकेका आठ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह दमकलविहीन छन् । बाँकेमा तीन वटा स्थानीय तहसंग मात्रै दमकल छ । जस अनुसार नेपालगन्ज उपमहानगरपालिकामा तीन, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा एक÷एक वटा दमकल छ ।
यस्तै नेपालगन्ज विमानस्थालमा दुई र नेपाल आयल निगम राँझामा एउटा मात्र दमकल छ । यही दमकलले जिल्लाभित्र र बाहिर अगलागी भएमा आगो निभाउँदै आएको अवस्था छ । बाँके आगलागीको उच्च जोखिममा रहेको जिल्ला भएर पनि सबै स्थानीय तहको प्रथमिकतामा दमकल पर्न सकेको छैन ।
यही चैत १२ गते बाँकेको नरैनापुर गाउँपालिका–४, जयरामपुर्वामा आगलागी भएको थियो । यस वर्ष गर्मी सुरु भएपछिको यो पहिलो घटना हो । आगलागीबाट १७ घरगोठ जलेर नष्ट भई करिब ८० लाख रुपियाँको क्षति भएको थियो तर पालिकाको दमकल बिग्रिएकाले नेपालगन्जबाट दमकल पुग्दासम्म समयमै आगो नियन्त्रण नहुँदा क्षति धेरै भएको बाँकेको नरैनापुर–४ का वडाध्यक्ष मनोजकुमार बर्माले बताए ।
नरैनापुरका स्थानीय जुमै खाँको घरबाट सल्किएको आगो करिब दुई घण्टापछि दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो तर यस्ता आगलागीका घटना बर्सेनि हुँदै आएका छन् तर जिल्लाको सबै पालिकासंग दमकल नहुँदा र भएको दमकल पनि तयारी अवस्थामा नराख्दा आगलागीबाट बढी क्षति हुने गरेको नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले बताए ।
Discussion about this post