भैरहवा चैत २८ गते ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र असन्तुष्ट बनेको छ । निजी क्षेत्रका चार वटा संस्थाले संयुक्त विज्ञप्ति निकालेर कुन अदृश्य शक्तिले विमानस्थल चल्न नदिएको हो ? भन्दै प्रश्न गरेका छन् ।
सरकारले विमानस्थल नियमित सञ्चालन हुने बताइरहे पनि परिणाममा त्यो नदेखिएको भन्दै विज्ञप्तिमा कुन अदृश्य शक्तिले विमानस्थल चल्न नदिएको हो ? भन्दै प्रश्न गरिएको हो ।
लुम्बिनी प्रदेशस्तरीय विभिन्न सङ्घसंस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “कुन अदृश्य शक्तिले लुम्बिनी प्रदेशको समृद्धिको आधारका रूपमा स्थापना भएको गौतम बुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ?, त्यस्ता अवरोध छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?” विज्ञप्तिमा ती संस्थाहरूले विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भने पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालय भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका लागि म्यानपावर कम्पनीका कार्यालय र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयको स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक पटक आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको भन्दै उनीहरूले विमानस्थलको दुरवस्था देखेर निजी क्षेत्र चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ ।
विमानस्थल निर्माण सुरु भएसँगै उत्साहित भएर सरकारकै आह्वानमा यस क्षेत्रका पर्यटन व्यवसायीले गरेको ५० अर्ब रुपियाँभन्दा बढीको लगानी जोखिममा रहेको भन्दै उनीहरूले विभिन्न बहानामा निजी क्षेत्रलाई पटक पटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन् । नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीले उडान कटौती गरेको सुनिएकाले कटौती भएका उडान पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुका कारण के हो भनी उनीहरूले प्रश्न गरेका छन् ।
विज्ञप्तिमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।
Discussion about this post