बाँके चैत २९ गते ।
नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन भोली नेपालगन्जमा हुँदैछ । नेपालगन्जको भवानियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सभापति नारायण प्रसाद गौडेलले सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोर सिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दीपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश सह–महामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मा लगायतका नेता गणहरु सहभागी हुने जानकारी दिए । सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ ।
नीति तथा कार्यक्रम पार्टी सभापति गौडेल, सांगठनिक प्रतिवेदन सचिव सुधांशु कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले प्रस्तुत गर्नेछन् । यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो ।
सभापति गौडेलका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिकता मान्यता पाउनेछ । जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधीन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् ।
सभापति गौडेलका अनुसार नीति कार्यक्रममा जिल्ला सभापतिसंग पालिका संवाद कार्यक्रम गर्ने, तरुणसंग कांग्रेस अभियान संचालन गरी विभिन्न वडा, पालिका, क्षेत्र र जिल्लामा रहेका तरुण युवाहरुलाई प्रशिक्षण दिने, तरुण युवाहरुको व्यापक सहभागितामा सुशील कोइराला स्मृति दिवसको अवसरमा हरेक वर्ष जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्ने, महिला हिंसा, घरेलु हिंसा, छुवाछुत, लैंगिक विभेद, बोक्सी र छाउपडी लगायतका सामाजिक कुरीति र अन्धविश्वास विरुद्ध जनचेतना बढाउने लगायतका विषयहरु समेटिएको सभापति गौडेलले बताए ।
त्यस्तै जिल्ला सम्मेलनमा सचिव कोइरालाद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भ्रातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेण्डा समेटिएका छन् । यसैगरी जिल्ला सम्मेलनमा कोषाध्यक्ष बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
Discussion about this post