बाँके चैत ३१ गते ।
चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी वर्षाले बाँके जिल्लामा रहेका ३० भन्दा बढी इँटा उद्योगमा तयार पारेर राखिएको साढे सात करोड रुपियाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ ।
नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वलीले यही चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी पानीले बाँके जिल्लामा रहेका ६० वटा इँटा उद्योगहरू मध्ये ३० वटा उद्योगहरूमा तयार पारेर बाहिर राखिएको करिब एक करोड ५० लाख काँचो इँटा नष्ट भएको बताए । उनका अनुसार जिल्लाका श्रद्धा इँटा उद्योग, चाचा इँटा उद्योग, चाँद इँटा उद्योग, देउती इँटा उद्योग लगायत ३० बढी इँटा उद्योगहरूद्वारा तयार गरिएको सात करोड पचास लाख बढी मूल्यको कच्चा इँटालाई हावाहुरी तथा पानीले नष्ट गरेको छ ।
पकाउनका लागि तयार पारेर राखिएका ८० प्रतिशत भन्दा बढी काँचो इँटाहरू वर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको जनाउँदै अध्यक्ष वलीले एउटा काँचो इँटा तयार गर्दा करिब पाँच रुपियाभन्दा बढी खर्च लाग्ने गरेकोले एक करोड ५० लाख पिस इँटामा क्षति पुग्दा सात करोड पचास लाखको नोक्सानी भएको बताए ।
एउटै व्यवसायीको पकाउन राखिएका पाँच लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बनाउँदै नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका कार्यालय सचिव सूर्यमणि पौडेलले खुला चौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा र भट्टा भित्र आगोमा राखिएका केही इँटा समेत नष्ट भएको बताए । श्रद्धा इँट्टा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले बेमौसमी हावाहुरी तथा वर्षाले गर्दा आफ्नो उद्योगमा मात्रै बाहिर तयार पारेर राखिएको करिब १० लाख बढी काँचो इँटाहरू नष्ट भएको जनाउँदै त्यसको मूल्य करिब ५० लाख भन्दा बढी हुने बताए ।
आफ्नो पीडा पोख्दै सञ्चालक सिंहले हरेक वर्ष व्यवसायीको काँचो इँटामा बमौसमी वर्षाले ठुलो क्षति गर्दै आएपनि सम्बन्धित निकायबाट कुनै सहयोग नपाईएको बताए । उनले गुनासो गरे, “हाम्रो पीडा कसले बुझ्ने, हामीप्रति सहानुभूतिसम्म कसैले प्रकट गर्दैनन् । हाल सञ्चालनमा रहेका अधिकांश इँटा उद्योगहरू प्रायः बैँकको ऋणबाट सञ्चालनमा रहेका छन् । तर बैँकले ब्याज समयमा नपुगे फोन गर्छन, नोक्सानी कति भयो, बुझ्न कहिल्यै फोन गर्दैनन् ।“
अर्का व्यवसायी चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यो वर्षाले अधिकांश इँटा व्यवसायीको ठुलो क्षती भएको बनाउँदै यो क्षतिका कारण इँटा उत्पादन घट्ने र मूल्य बढ्ने बताए ।
इँटा व्यवसायीले बर्सेनि वर्षाको समयमा ठुलो नोक्सानी व्यहोर्नु पर्ने कारण काँचो इँटाको बिमा गर्न नपाउनु रहेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकले जनाएको छ । काँचो इँटाको बिमा गर्नुपर्ने मागलाई बेवास्ता गरिएकै कारण व्यवसायीले यति धेरै क्षति बेहोर्नु परेको सङ्घको भनाइ छ ।
आकस्मिक रूपमा हुने वर्षाको क्षतीबाट जोगिनका लागि काँचो इँटाको बिमा गर्नु पर्ने माग सङ्घले लामो समयदेखि गर्दै आएको भएपनि सुनुवाइ नभएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष वलीले बताए ।
Discussion about this post