बाँके वैशाख ४ गते ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालगन्ज रंगशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रंगशाला सरसफाई, रंङरोगन, खेलाडी आवास, यातायातको ब्यबस्था लगायतका काम पूरा भइसकेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
उनका अनुसार टिकट बिक्री, पार्किङ ब्यबस्थापन, खेलाडीका लागि आवास ब्यबस्थापन र खेलाडी बसोबास भएको स्थानदेखि रंगशालासम्म यातायताको ब्यवस्थापन समेत भइसकेको छ । प्रतियोगिताका लागि खेलाडीहरुको टिम आउने क्रम पनि सुरु भएको मिडिया संयोजक निरज गौतमले बताए । उनका अनुसार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टिम नेपालगञ्ज आइसकेको छ ।
नेपाल र भारतका गरेर ८ वटा टिमको सहभागिता रहने प्रतियोगितामा अन्य टिमहरु पनि खेल तालिका अनुसार आउनेछन् । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिष्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ ।
साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्यारापिट अनुसार टिकटको ब्यबस्था गरिएको छ । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै ठूलो रहेको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएका छन् ।
Discussion about this post