बाँके वैशाख ६ गते ।
समाचारको बिषयलाई लिएर बाँकेका प्रमुख जिल्ला अधिकारीले बोलेको शब्द प्रति नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नागरिकताको बिषयमा मिसन टुडे दैनिकमा कार्यरत सुभाकर विश्वकर्माले फोन मार्फत सोध्दा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिकताको बिषयमा फोन गर्ने सबै दलाल हुन् भन्ने प्रतिक्रिया दिएका थिए ।
समाचारका लागि सोधपुछ गर्दा पत्रकारलाई समेत दलाल शब्द प्रयोग गरेको प्रति महासंघ बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघ बाँकेले पत्रकार प्रति बाँकेका प्रमुख जिल्ला अधिकारीको आधिकारिक धारणा समेत मागेको छ । ’पत्रकार प्रति प्रमुख जिल्ला अधिकारीको आधिकारिक धारणा के हो । पत्रकार माथि पटक पटक गरिदै आएको व्यवहारले सिंगो पत्रकार जगत माथि हस्तक्षेप भएको हाम्रो ठम्याई छ,’ महासंघ द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
पत्रकारलाई दलाल शब्द प्रयोग गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीलाई केरकार गर्न लगाएका थिए । उनले समाचारको बिषयलाई लिएर पत्रकारलाई धम्कीपूर्ण शब्द प्रयोग गर्दै आएका छन् ।
यस अघि नौवस्ता औधोगिक क्षेत्रको समाचारलाई लिएर एक जना पत्रकारलाई धम्कीपूर्ण शब्द प्रयोग गर्दै आइन्दा यस्तो समाचार नलेख्न आदेश दिएका थिए ।
Discussion about this post