बाँके बैशाख ७ गते ।
नेपालगन्जमा २० र २१ बैशाखमा हुन लागेको नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनको पूर्व तयारी तीव्र पारिएको छ । पूर्व तयारी अन्तरगत आइतवार एमाले निकट विभिन्न भातृ संगठनसँग छलफल एवम् परामर्श भेला गरिएको छ ।
भेलामा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुनले नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनले पछाडी पारिएका समुदायको उत्थानका लागि ऐतिहासिक हुने बताए । उनले मुस्लिम मात्र नभई मधेसी, थारु, दलित, अल्पसंख्यम, सिमान्तकृत समुदायको उत्थानका लागि महाधिवेशनले नेपालगन्ज घोषणा पत्र जारी गर्ने स्पष्ट पारे ।
सो अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले पछिल्लो समय मरिसकेको राजतन्त्रलाई ब्यूताउने खेल भइरहेकोले यस प्रति सवै नागरिक सचेत हुनुपर्ने बेला आएको बताए । उनले संघीय गणतन्त्रले पछाडी परेका समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।
नेपाल इत्तेहाद संगठनका केन्द्रिय सदस्य करिम खानले मुस्लिमको लागि आवाज उठाउने एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन सवैभन्दा पुरानो र ऐतिहासिक संगठन भएको बताए । उनले महाधिवेशनमा मुस्लिम समुदायको अधिकार र पहिचानको विषयमा गम्भिर छलफल र विमर्श हुने धारणा राखे ।
एमालेका लेखा समिति सदस्य विजया धितालले एमालेले मुस्लिम समुदायलाई अगाडी बढाउन अग्रणी भूमिका खेल्दै आएको बताउँदै महाधिवेशनले अझ मार्ग प्रशस्त गर्ने बताइन् ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले महाधिवेशनले मुस्लिमसँगै बाँकेलाई चिनाउन मद्दत गर्ने बताउँदै महाधिवेशन ब्यवस्थित बनाउन हरसम्भवको प्रयास गरिरहेको जानकारी दिए ।
नेपाल मुस्लिम इत्तेहाद संगठन सातौँ महाधिवेशन मुल समारोह संयोजक हलिम शाहले सिंगो मुस्लिम समुदायको अधिकार स्थापित गर्न महाधिवेशनले भूमिका खेल्ने बताउँदै सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे ।
एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली विसीले जन संगठन बलियो भए मात्र पार्टी बलियो हुने बताए । उनले महाधिवेशनले मुस्लिम समुदायको मात्र नभई नेपालगन्जको इतिहासलाई उचाईमा पुर्याउने बताए ।
एमाले बाँकेका उप–सचिव एवम् जनसंगठन विभाग इन्चार्ज किशोर थापाले महाधिवेशनमा आउने पाहुनाको स्वागतमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले महाधिवेशन सफल बनाउन सहयोगको अपिल समेत गरे ।
एमालेका नेता सफिक बेहनाले महाधिवेशनमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री आउनु गर्वको कुरा भएको बताउँदै महाधिवेशनले हिन्दू–मुस्लिमको एकतालाई अझ बलियो बनाउने धारणा राखे । उनले केहि उछृंखल तत्वले हिन्दू र मुस्लिमका वीच फाटो ल्याउने प्रयास गरेको बताए ।
Discussion about this post