बाँके बैशाख ८ गते ।
भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई सोमवार एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,मोहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
लाखौं लगानीको सिटीस्क्यान मेशिन जडान भई बिगतमा संचालन भए पनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउँन सिटीस्क्यान मेशिनको नयाँ जडान वा मर्मतको काम तत्काल गर्न जोडदार माग गरिएको मिश्रले बताए ।
उनका अनुसार, पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा दस शैया मात्रै आइसीयु संचालन हुनु बिडम्बना हो । कोभिड–१९ को महामारी थेग्ने सामाथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पुर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन । सोको लागि न्यूनतम दश शैया आईसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको ब्यवस्थापन सहित तत्काल आइसीयु बिस्तार गर्न ध्यानाकर्षण गराइएको छ ।
कोभिड–१९ का समयमा अस्पतालको पुर्वाधारमा कायापलट गर्न मास्टर प्लान तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालको तर्फ आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गर्ने वातावरण तत्काल बनाउन माग गरिएको छ ।
भेरी जस्तो ठूलो अस्पतालमा बेग्लै प्रसुति गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।
भेरी अस्पताल बिस्तार गर्दै बिशिस्टकृत सेवा, पूर्वाधारसंगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दीको व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । सरकारलाई यसतर्फ ध्यानाकर्षण गराईएको मिश्रले बताए । उनका अनुसार, ध्यानाकर्षणपत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले सकारात्मकरुप लिएको बताए । अस्पतालले गर्न सक्ने काम भइरहेको उल्लेख गर्दै डा सुवेदीले माथिल्लो तहबाट हुने कामका लागि सबै पक्षले पहल गरि भेरी अस्पतालको सेवा सुदृढ बनाउन लाग्नुपर्नेमा उनको जोड थियो ।
पश्चिम नेपाल (लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश) हजारौं विरामीको भरोसा हो–भेरी अस्पताल । शहरदेखि गाउँ । तराईदेखि विकट हिमालसम्मका विरामी नयाँ जीवन प्राप्तीको आशा र भरोसा बोकेर यश अस्पतालमा आउँने गर्छन् । त्यसैले भेरी अस्पताल पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित छ ।
आफ्नो स्थापनाको १ सय ३३ बर्ष यो अस्पतालले लाखौंलाई नयाँ जीवन दिएको छ । अस्पताल स्वंयले बिभिन्न कालखण्डमा बिभिन्न आरोह अवरोह पार गरेको छ । सामान्य डिस्पेन्सरीकारुपमा स्थापना भएको अस्पतालले स्थापनाको १३४ वर्ष पुरा गर्दा देशको पश्चिम क्षेत्र सहित भारतका बिरामीलाई पनि सेवा दिन सक्षम भएको छ ।
निजि लगानीमा साना ठूला अस्पताल खुल्ने क्रममा बढेपनि जोकोही बिरामीका लागि भेरी अस्पताल पहिलो रोजाई बन्ने गर्छ । जसका कारण अस्पतालमा दैनिकी बिरामीको चाप अत्यधिक बढिरहेको छ । यस्तो परिस्थितिमा अस्पतालले नयाँ जीवन पाउने आशा र भरोसा सहित आउने बिरामीलाई निरास बन्न दिनुहुँदैन ।
अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पर्याप्त जनशक्ति र पुर्वाधारको व्यवस्था नहुँदा नागरिक निरास हुनुपर्ने अवस्था छ । त्यस्तो अवस्थाको अन्त्यका लागि उल्लेखित बिषय सम्बोधन गर्न हामी अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदछौ । साथै अस्पतालमा उल्लेखित बिषय सम्बोधन गराउनका लागि सरकारका सम्बन्धित निकायसंग जोडदार आवाज उठाउने छौं । नेपालगन्ज सहित पश्चिम नेपालका नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय हुँदा सरकारको ध्यानाकर्षण गराउँदै लैजाने मिश्रले बताए ।
Discussion about this post