बाँके वैशाख १३ गते ।
लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए ।
फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको संख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छ भने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ ।
बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छ भने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताए । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् । दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् ।
६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् ।
सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताए । उनका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ । लुम्बिनी प्रदेशका प्रहरी कार्यालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख कार्कीले जग्गा भएको तर भवन निर्माण नभएको ७० वटा एकाइ भएको जानकारी दिए ।
उनले अन्य संघ संस्थाकै भवनमा रहेर ७४ वटा एकाइबाट सेवा दिँदै आएको बताए । प्रहरी प्रमुख दानबहादुर कार्कीले जग्गा प्राप्त भएका केही स्थानमा भने स्थानीय सरकारबाट भवन निर्माण भएको जानकारी दिए ।
उनले प्रहरीको सेवालाई थप चुस्तदुरुस्त बनाउनका लागि भवनसमेत अपरिहार्य रहेकाले स्थानीय सरकारले आफ्ना भवन बनाउने क्रममा प्रहरीका लागि समेत भवन निर्माणलाई प्राथमिकतामा दिए सेवा प्रवाहमा सहज हुने बताए ।
Discussion about this post