बाँके बैशाख १४ गते ।
बाँके कोहलपुरका युवा सुनचाँदीका गरगहना बनाउन सिक्दै छन् । कोहलपुर नगरभित्रका दलित, विपन्न गरी दुई महिलासहित १० युवा सुनचाँदीका गहना बनाउन सिकिरहेका हुन् । सहभागीहरूलाई शंकरवीर विकले प्रशिक्षण गराइरहेका छन् । मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा सुनचाँदी गहना निर्माणसम्बन्धी एक महिने आधारभूत तालिम सुरु भएको हो ।
कोहलपुर नगरपालिकाको सहयोगमा पहिलोपटक यस्तो तालिमको आयोजना गरिएको नगर प्रमुख पूर्ण आचार्यले बताए । बेरोजगारी सबैभन्दा ठूलो समस्या रहेको भन्दै संघको आग्रहमा कालिगड बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको उनको भनाइ छ । ‘रोजगार र आत्मनिर्भर बन्नका लागि सीप र ज्ञान आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने ,‘अहिले धेरै युवा लागुऔषधको दलदलमा फसिरहेका छन् ।
गहना निर्माण तालिमबाट प्रतिफल निस्कियो भने यसलाई आगामी दिनमा निरन्तरता दिनेछौं ।’ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य देवीलाल सुनारले स्थानीय सरकारको सहयोगमा पश्चिम क्षेत्रमा पहिलोपटक तालिम प्रदान गरिएको बताए ।
‘यो तालिमले दक्ष युवा कालिगड उत्पादन हुनेछन् भन्ने विश्वास लिएका छौं,’ उनले भने, ‘परम्परागत पेसालाई संरक्षण गरेर नयाँ पुस्तालाई पुस्तान्तरण गर्न आवश्यक छ ।’ स्वदेशमै केही गरौं भन्ने सोच भएका युवालाई सीपयुक्त बनाउन र स्वरोजगार बन्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोहलपुरमा एक सय जनाभन्दा बढी सुनचाँदी व्यवसायी रहेका छन् ।
Discussion about this post