बाँके बैशाख १४ गते ।
बर्खे, हिउँदे मकैको खेती गर्दै आएका बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका किसान बसन्ते मकै खेतीतर्फ आकर्षित भएका छन् । बाबु बाजेको पालादेखि तरकारी खेती गर्दै आएका हिरमिनियावासीले पछिल्लो समय मकै खेती गर्न थालेका छन् । डुडुवा गाउँपालिका– ६ बल्दीपुर्वाका किसान गुरुदीन यादवले ६० कठ्ठा क्षेत्रफलमा बसन्ते मकै खेती गरेका छन् ।
आलु भित्र्याएलगत्तै बेमौसमी मकै लगाएको बताउँदै उनले बसन्ते, बर्खे र हिउँदे समयमा समेत मकै लगाउने गरेको जानकारी दिए । मकैमा राम्रो आम्दानी हुने गरेको बताउँदै डुडुवा ६ भंघोटनाका किसान जयपाल मौर्यले एक कठ्ठामा ४ क्विन्टल मकै उत्पादन हुने गरेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई तरकारी र मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको मौर्यको भनाई छ ।
उनले ‘तरकारी खेतीभन्दा मकैबाट धेरै फाइदा हुने भएपछि हिरमिनियाका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन्,’ । २० वर्ष पहिला ३० कट्ठा जमिनबाट मकै खेती शुरु गरेका मौर्यले अहिले ९० कट्ठामा मकैखेती गरेको जानकारी दिए । उनले खेतको राम्रो हेरचाह गरेको खण्डमा राम्रो उत्पादन गर्न सकिने उल्लेख गरे । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भएपनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियाली छाएको छ ।
डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माका अनुसार डुडुवामा ४ सय ७५ हेक्टर क्षेत्रफलमा बसन्ते मकैको खेती गरिएको छ । डुडुवामा वडा नं. २, ३, ४, ५ र ६ मा मकै खेती गरिएको उनले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी डुडुवा ६ हिरमिनियामा दुई सय ५० हेक्टर जमिनमा बसन्ते मकै खेती गरिएको शर्माले बताए । गत वर्ष बसन्ते मकै खेतीको क्षेत्रफल कम भएपनि यसवर्ष डुडुवाको अधिकाँश वडामा मकै खेतीको विस्तार भएको कृषि शाखा प्रमुख शर्माको भनाई थियो ।
Discussion about this post