बाँके बैशाख १५ गते ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहको एक महिना अघि सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन भएको हो ।
अहिले निमित्त निर्देशकको जिम्मेवारी अस्पतालकै डा.प्रविण गुप्तालाई प्रदान गरिएको छ । उनलाई आर्थिक अधिकार दिइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक पठाउन ढिलाई गरेका कारण अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको छ । कर्मचारीहरुले तलव खान पाएका छैनन् ।
रिएजेन्ट, केमिकल र औषधीको अभाव हुन थालेको छ । प्रयोगशाला सेवा प्रभावित हुन थालेपछि त्यसको मार बिरामीलाई पर्न थालेको छ । बिरामीहरुलाई चेकजाँचका लागि बाहिर पठाउनु पर्ने बाध्यता हुन थालेको छ । यसले बिरामीहरुलाई आर्थिक भार थपिने स्थिति उत्पन्न भएको छ । त्यसैगरी अस्पतालका भौतिक पूर्वाधार निर्माणका काम पनि प्रभावित हुन थालेका छन् ।
डे केयर भवन, अस्पताल फार्मेसी, ल्याव भवनको निर्माण कार्य पनि प्रभावित हुन थालेको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा भेरी अस्पतालमै कार्यरत सिनियर चिकित्सकलाई जिम्मेवारी दिएर पठाउने तयारीमा थिए । तर अस्पतालको लिन्याक मेसिन खरिद लगायतको दायित्व कायमै रहेकाले अनावश्यक झन्झटमा फस्ने भयले क्यान्सर अस्पतालको बागडोर सम्हाल्न इच्छा देखाएका छैनन् ।
Discussion about this post