खोजखबर संवाददाता
काठमाडौं असार १६ गते। संखुवासभामा भएको भनिएको विप्लव नेकपा र सुरक्षाकर्मी बीचको गोली हानाहान स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्लामा गोली चलेको हो । प्रहरीले सुरुमा विप्लव नेकपाका कार्यकर्ताले गोली चलाएको दाबी गरेको छ । तर, स्थानीयका अनुसार एकतर्फी गोलीको आवाज सुनिएको थियो । उक्त ठाँउमा झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता देखिएको प्रहरीले दाबी गरेको छ । यसैबीच जिल्ला सुरक्षा समितिको बैठक सदरमुकाम खाँदबारीमा बसिरहेको छ । घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन् । अहिले सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको बेग्लाबेग्लै टोली सेनाको ३ वटा हेलिकोप्टरमा उक्त स्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव नेकपाबीच सोमबार बिहान गोली हानाहान भएको बताइएको छ ।
सिलिचोङ गाउँपालिकाका स्थानीयका अनुसार बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको आवाज आएको थिए ।
अटोमेटिक राइफलबाट मकै पड्के जस्तै गोली चलेको स्थानीयले बताएका छन् । तर घटनामा हताहती या अन्य क्षतिबारे प्रहरीले केही बोलेको छैन । उक्त गोली सुरक्षाकर्मीले एकतर्फी चलाएको आशंका स्थानीयले गरेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो । घटनाबारे विप्लव नेकपाले कुनै मुख खोलेको छैन् । विप्लव नेकपाले सुरक्षाकर्मी माथि आक्रमण गर्ने कुनै निती नरहेको बताउँदै आएको छ । यसअघि पनि प्रहरीले भोजपुरमा तिर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको नियन्त्रणमा लिई हत्या गरेको थियो । घटनाबारे प्रहरीले भिडन्त भएको बताएपनि पछि नक्कली भिडन्त भएको कुरा सार्वजनिक भएका थिए ।
ई-हुलाकीबाट
Discussion about this post