बाँके मंसिर ८ गते ।
कथा १ – “आई लभ यु, अप्सरा। मैले डराई डराई भने।
“हजुर, के भन्या ? मैले सुनिन” उनले भनिन्।
मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भने “आई लभ यू।म तिमीलाई धेरै मन पराउँछु ।”
प्याट गालामा हिर्काईन उनले।म डराएँ। हेर्न लायकको अनुहार बनाउन सकिन मैले।
तर फेरि उनले भनिन्- “बुद्ध यति भन्न पनि यत्तिका समय लगाको ? माय गरेसी पहिल्यै भन्नु पर्दैनथ्यो ? खाली एकोहोरो हेर्ने ? ……..पागल।”
म अकमक्क भएँ ।मात्र उनलाई हेरीरहेँ।अनि मुसुक्क हाँस्दै बिस्तारै मेरो अँगालोमा बाधिदै भनिन्” थाहा छ ?..
म पनि चाहन्थे तिमीलाई पहिले देखि नै। म यही समयको पर्खाईमा कति एक्लै एक्लै तड्पी रहेँ? …..पापी ।”
अब भने कयौं दिन तड्पिएर भए पनि बल्ल मेरो ह्रदयले उकुसमुकुस बिचमा स्वच्छ अक्सिजन पाए जस्तो लाग्यो।त्यसैले म अत्यन्त विस्मित थिएँ।त्यही बेला मेरो आँखामा घामको झुल्को परे झैं लाग्यो।आँखाका पर्दा उघारेँ। झ्यालका पर्दा खुल्ला रहेछन्- म ओछ्यानमा पो रहेछु।मेरो अँगालोमा सिरानी थियो।भित्ते घडीमा सात बजेपछिको पहिलो फन्को मार्न सेकेण्ड काँटा रफ्तारमा दौडी रहेथ्यो।अनि आफ्नो हातको सिरानीलाई हेर्दै सोचेँ, धत म पनि ।..आहा, कति मिठो संवाद ।फेरि सुन्न पाए कति आनन्द आउँथ्यो।म पल्टिएँ, त्यही सपना समात्न।एक घण्टासम्म कोशिस गरेँ।तर अहँ सकिन निदाउनँ।
क्याम्पसकी सहपाठी थिईन् अप्सरा।दुई वर्षे पढाईको करिब अन्तिम अन्तिम दिनहरु आउँन थालेका थिएँ।अरु कसैले अप्सरालाई मन पराउँछ होला ? मेरो सङ्का। मलाई भने उनी निकै सुन्दर लाग्थिन।तन मात्र होइन।मन पनि सुन्दर लाग्थ्यो।उनले चन्चल आँखाको ढुलुक्क काला नानी गुडाउँदै यताउता हात हल्लाउँदा बलिउड फिल्मकी हिरोइन दिपीकाले ओम शान्ति ओममा हात हल्लाएको झल्को तेर्सिन्थ्यो आँखा अगाडि।ती आंखाको अलवा उनको स्वभावप्रति मोहीत थिएँ म सुरुदेखि नै अति चाहन्थे।सधै उनकै बारेमा कल्पना गरि रहन्थे।त्यसैले गर्दा होला सायद मेरो ध्यान पढाईमा खासै जान छाडेको थियो।मसँग बोल्दा साथीहरुसँगै बोलेको झै खुलेर बोल्थिन् उनी। तर मैले कहिले पनि मायाँ गर्छु भन्न सकिरहेको थिइन।भन्न खोज्दा नसकी नसकी समयका थुप्रै पन्नाहरु पल्टिसकेका थिए।
दोश्रो वर्षको क्लास सुरु भयो।चार पाँच दिन उनी आइनन्।मैले उनलाई क्लासमा देख्न नपाएर मनका निरसिला बादल हटाउन सकिरहेको थिइन्।त्यस्तै एक बिहान क्याम्पससम्को केही दुरी बाँकी छँदै मैले उनलाई अगाडि देखेँ।हामी दुवै जना क्याम्पस जाँदै थियौं।
पछाडिबाट भनेँ-“हेलो अप्सरा” उनले तुरुन्तै फर्केर हेरेपछि दङ्ग पर्दै कुरा लम्वाउने कोसिस गरेँ “किन यति छिटो हिँडेको ?” यति भन्दै गर्दा उनी सामु आइ पुगेँ।अनि सँगै हिँड्न थाल्यौं।उनी बल्ल बोलिन्-“अनि के छ त तिम्रो खबर ? पढाई चलिरहेको होला ।“
“मेरो त ठिकै छ।अनि तिम्रो? किन यतिका नआएकी नि ? ………..” एकै चोटी थुप्रै प्रश्न सोधेँ क्यार । सायद यो केही दिन नभेट्दाको उकुस मुकुस पोखिएको हुनुपर्छ।
फेरि उनले केही भन्न नपाउँदै ठट्टा शैली अपनाएँ-“डेटिङ सेटिङमा व्यस्त भएर त हैन?”
-“पागल ।..के भन्या त्यस्तो ? मलाई के सोचेको तिमीले ?”
अरु जस्तो त के सोच्थेँ र म तिमीलाई सजग गराउन खोजेको नि।“
खै तिम्रो कुरा पनि बरु तिम्री होली नि कोही सुनाउ न त मलाई नि।“
सँगै हाँस्यौं।
“ छे एउटी। निकै राम्री छे मोरी।मसँगै पढ्छे।अप्सरा त्यसको नाम ।“ भन्न चाहेको हो मनले। तर सोच्दासोच्दै बढेको धड्कनसँग म डराएछ क्यार “छे एउटी। निकै राम्री छे मोरी ।…..पछिको वाक्य निस्कनै सकेन आवाज बनेर ।बरु थपि दिएँ-. “……. तर चाहेर मात्र के गर्नु ?”
“डरपोक कहिल्यै भन्न सकेको छौ उसलाई मायाँ गर्छु भनेर ? ट्राई त गर।के थाहा तिमीलाई भन्दा बढी माया पो साँचेकी छे कि तिम्रो लागि ?
अँ साँच्ची तिमी किन नआएको रे ? हठात् प्रसँग बदलें।म केही गम्भर भएँछु क्यारे ।वा उत्तर फर्काउन नसकेर पनि हुन सक्छ।
“उमम् ……….होस् भन्दिन। पछि आफै थाहा पाइ हाल्छौ नि।“ केही सोचेजस्तो गर्दै सस्पेन्समा राखी ।यसो भन्दा निकै मिठो लाग्यो उसको आवाज र हाउभाउ।हुरुक्कै बनाउँछे घरी घरी। यो मिठो वार्तालापकै बिचमा हाम्रो अगाडी ठिङ्ग उभियो कलेज। र आ-आफ्ना साथीहरुको हुलमा बाँडियौं।बाटाभरी अनेकौं कल्पनामा डुबेको मन त्यो साँझ कोठामा आई पुग्दासम्म पनि एक तमासको भई रहेको थियो।कल्पनाको श्रृङ्खला निकै लम्बिदै थियो। कति मिठो बोली उनको ।पहिला थाहा त दिनैपर्छ मैले मायाँ गर्छु भनेर। “के थाहा तिमीले भन्दा बढी माया पो साँचेकी छे की तिम्रो लागि ?” यो उनकै वाक्यले गर्दा आज मनले सानो भए पनि हिम्मतको पोको भेट्टाएको आभास भएको छ।मनक कुरा पोखियो भने छर्छन् र सुवास फुल बनेर तिनले तर मनमै गुम्सायो भने ति कुहिन्छन् रे मन भरि।मनले मनलाई नै सम्झाई रहेथ्यो।
“प्रिय अप्सरा। म तिमीलाई ह्रदय देखि नै चाहन्छु। तिमी मेरी प्रेमिका बनिदेउ मात्र, मसँग यो संसार जित्ने आँट छ। आई लभ यु, अप्सरा …” यिनै पुरानो ढर्राका शब्दहरु बटुल बाटुल पारेर चिठी लेख़न थाली सक़ेछु ।जे सुक़ै होस भोली यो चिठी दिन्छु दिन्छु मनलाई हिम्मतको डोरिले कस्न थाँले।
अचानक टाइटानिकको धुन बज्न थाल्यो।फोन आएछ।हेरेँ।स्क्रिनमा “Calling…Samana” देखें।सामना अप्साराकी निकै नजिककी साथी।
“हेलो ? हेलो निरोज ? मोवाइलमा ब्यालेन्स छैन खास कुरा मात्र भन्छु है ?
सिजन त्यस्तै थियो।पक्कै कतै पिकनिकको प्रस्ताव राख्न लागी ।सामना यस्ता कुरामा अलि फर्वाड छे।
“ के हो त्यस्तो खास कुरो ? भन न ।“
“निरोज खुसीको खबर छ, अप्सरा छ नि अप्सरा हाम्रो क्लासको त्यसको हिँजो इङ्गेजमेन्ट भएछ ।10 गते विवाह छ। मलाई पनि आज मात्र भनेकी हो। सबै साथीलाई खबर गर्दै है भनेकी थिई आउ है तिमीलाई अप्सराको बिहेमा निम्तो ………”टुँट् टुँट ….। फोन काटियो। म आकासमा धागो चुटिएको सपनाको चङ्गा हेरि रहेँ।
रचनाकार निरोज कोइराला, बर्दिबास १ महोत्तरी हाल नेपालगञ्ज बाँके
Discussion about this post