खोजखबर संवाददाता
प्युठान असार १७ गते । प्युठान-लोपोन्मुख वन्यजन्तुहरुको संरक्षणका लागि प्युठानमा पहिलोपटक जंगलमै आधुनिक क्यामेरा जडान गरी अनुसन्धान गर्न थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो कोठीभीर आसपासका वन क्षेत्रमा गत जेठ २१ गतेदेखि १४ वटा ट्राप क्यामेरा जडान गरी वन्यजन्तुको अनुसन्धान सुरु गरिएको हो । ४ अनुसन्धानकर्तासहित ७ जनाको टोली वन्यजन्तुको अनुसन्धानका लागि खटिएको छ ।
जिल्ला वन कार्यालय प्युठानले लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न नौबहिन–१ स्याउलिवाङस्थित कोठी लेक क्षेत्रमा वन्यजन्तु संरक्षणकर्मीहरुको टोलीले अनुसन्धान कार्य गरिरहेको बताएको छ ।
स्थानीयका अनुसार कस्तुरी, हाब्रे, थारलगायतका वन्यजन्तु वनमा पाइने भनिएपनि वन्यजन्तुहरुको अनुसन्धान हुन नसक्दा उक्त क्षेत्रमा के–कस्ता वन्यजन्तु छन् पुुष्ठी हुन नसकेको वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिवी खनालले बताए ।
जंगलमै क्यामेरा जडान गरी वन्यजन्तुको अनुसन्धान गरिरहेका छौँ, उनले भने–अनुसन्धानको प्रक्रीया अन्तिम चरणमा पुगेको छ । प्रस्तावित गौमुखी संरक्षित वनक्षेत्र अन्तर्गत पर्ने यो भेगमा अहिलेसम्म घोरल, डाँफे, राते, गिद्ध, कस्तुरीलगायतका वन्यजन्तुहरु भेटिएको खनालले जानकारी दिए ।
आधुनिक प्रविधियुक्त क्यामरा ट्रापिङको प्रयोग गरी अनुसन्धान गर्न लागेको अनुसन्धान टोलीको नेतृत्व गर्नु भएका वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिवी खनालले बताए । जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थानसमेत हो ।
बाग्लुङको ढोरपाटन शिकार आरक्षसँग जोडिएको यो वनक्षेत्रमा कस्तुरी, मृग, चरीबाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्ग्लिको बासस्थानको रुपमा प्रयोग गरेको बताइएको छ । गौमुखी संरक्षित वन अन्तर्गतको यो क्षेत्र रोल्पा बाग्लुङसँग सिमाना जोडीएको छ। वनमा मानवीय चाप धेरै रहेको र वनमा वन्यजन्तुको चाप बढ्न पनि थालेको अनुसन्धानकर्ता खनालले बताए ।
जिल्लाको सबैभन्दा उचाइमा रहेको कोठी लेक ३ हजार ६ सय मिटरभन्दा उचाइमा अवस्थित छ । वन्यजन्तुहरुको संख्याको नतिजा आउन केही समय लाग्ने अनुसन्धानकर्ता खनालले जानकारी दिए । -नेपाल लाईभबाट
Discussion about this post