
बाँके मंसिर १३ गते । शनिबार बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुँदै छ ।
उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भइसकेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृत खडानन्द सुबेदीले जानकारी दिए । उनका अनुसार कर्मचारी र सुरक्षाकर्मीहरु बिहीबार नै आवश्यक निर्वाचन साम्रगीसहित मतदान स्थल पुगिसकेका छन् । उपनिर्वाचनको लागि कोहलपुर ५ मा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान स्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द्र रहनेछन् । कोहलपुर ६ मा दुई हजार २६ जना मतदाताहरु रहेका छन् । निर्वाचनको लागि मतदान अधिकृतसहित १० जना कर्मचारीहरु खटिसकिएका छन् । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएपछि कृषि तालिम केन्द्रको भवन पिपिरीमा मत गणनाको लागि मतपेटिका लगिनेछ । कोहलपुर वडा नम्बर ६ का अध्यक्ष रामसोहन थारुको निधन भएपछि शनिबार उपनिर्वाचन हुन गइरहेको हो । उपनिर्वाचनमा एक प्रतिनिधिसभा र ३ स्थानमा प्रदेशसभाको उपनिर्वाचन हुँदैछ । त्यस्तै ४८ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । जसका लागि ५ सय ३७ मतदान केन्द्र तोकिएको छ । ४८ पदको लागि स्थानीय तहको उपनिर्वाचनमा २ सय ७३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभामा ६४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । मतदानमा सहभागी हुने मतदाताले मतदाता परिचयपत्र अनिवार्य साथैमा लैजानुपर्नेछ । २०७४ को निर्वाचनमा सहभागी मतदाताले पुरानै परिचय पत्र लिनुपर्नेछ भने यस पटक थपिएका मतदाताले नयाँ परिचयत्र लिनुपर्नेछ ।
Discussion about this post