बाँके पुस २७ गते । नेपालगञ्ज उद्योग वाणिज्य वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा रहेको समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपिल गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक इश्वर पोखरेलले आइतबार जारी गरेको बिज्ञप्तीमा प्यानल प्रति बढ्दै गएको उत्साह र समर्थनबाट अत्तालिएर नियोजित रुपमा प्रहार हुन थालेको प्रति गम्भीर ध्यानार्कषण भएको उल्लेख गरिएको छ । यसै क्रममा मतदाता परिचयपत्रको विषयमा यस प्यानललाई जोडेर केही संचारमाध्यममा कपोकल्पित, भ्रामक र नियोजित समाचार प्रकाशित गरिएको ठहर गर्दै बिज्ञप्तीमा चुन्ना नेतृत्वको समावेशी प्यानलको जित सुनिश्चित भएपछि अत्तालिएका समूह र पक्षबाट भएका नियोजितरुपमा प्रकाशित प्रचार सामाग्री प्रति बिश्वास नगर्न सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं भनिएको छ । मतदाता परिचय पत्र वितरणको कार्य बिशुद्ध नेपालगञ्ज उद्योग वाणिज्य संघको आन्तरिक काम भएकाले नियोजितरुपमा समावेशी प्यानललाई नजोड्न सम्बन्धित संचारमाध्यमलाई प्यानलले आग्रह समेत गरेको छ ।
हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षपाती हौं,संचारमाध्यमसंग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेका छौं, विज्ञप्तीमा उल्लेख छ , संचारमाध्यमबाट पनि बास्तविकता बुझेर सत्यतथ्य समाचार प्रकाशित होस् भन्ने हाम्रो अपेक्षा छ । समावेशी प्यानलप्रति आम उद्योगी, व्यवसायीहरुको उत्साहजनक सहभागिता र समर्थन रहेको घाम झै छर्लङ्ग भएको भन्दै विज्ञप्तीमा स्वस्फुर्तरुपमा उद्योगी, व्यवसायीले समावेशी प्यानलका उम्मेदवारप्रति देखाएको अपार साथ र समर्थन दिनानुदिन बढ्दो क्रममा रहेको दावी गरिएको छ । समावेशी प्यानलले नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाच स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न होस् भन्नेमा दृढ भएको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न समावेशी प्यानल प्रतिवद्ध रहेको पनि प्रतिवद्धता जनाएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले केही दिनअघि मात्रै सम्वद्धलाई मात्रै परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो । केही ब्यक्तिका परिचयपत्र निर्णय भन्दा अगाडी लगिएको हुन सक्ने संघले जनाएको छ ।
Discussion about this post