सल्यान माघ १५ गते ।
सल्यान कारागारका महिला कैदी बन्दीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । साथै उनीहरुसंगै बस्ने बालवालिकाहरुलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ । शारदा नगरपालिकाले केदीबन्दी र त्यहाँ रहेका वालवालिकाहरुको समस्यालाई मध्यनजर गर्दै सामग्री वितरण गरेको हो । नगरपालिकाले कारागारमा रहेका ४ बालबालिका मध्ये विद्यालय उमेर पुगेका दुई बालबालिकालाइ अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले एक थान ह्वाइट बोर्ड, तीन दर्जन कापि, कलम र मार्कर वितरण गरेको जनाएको छ । यस्तै कारागारमा रहेका १८ महिला कैदी बन्दिका लागि एक बर्ष सम्म पुग्ने प्याड बितरण गरिएको छ ।
नगर प्रमुख सुरेश अधिकारिले सल्यान कारागारमा रहेका महिला कैदी र उनिहरुका बालबालिकाहरुलाइ सहज होस भनेर सामाग्री हस्तान्तरण गरेको बताए । केही समय पहिले विभिन्न संचार माध्यमहरुमा कारागारमा घाम नलाग्दा महिलाहरुलाइ महिनावारी भएको समयमा समस्या हुने गरेको समाचार प्रकाशन भएको थियो । त्यस पछी नगरप्रमुख अधिकारीले प्रत्यक्ष कैदी महिलाहरुलाई भेट्दा प्याड र शैक्षिक सामाग्रीको माग गरेपछि सामाग्री हस्तान्तरण गरिएको हो । आगामी दिनमा पनि कारागारका कैदीबन्दीहरुलाइ नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता उनले ब्यक्त गरे । सामाग्री ग्रहण गर्दै कारागारका महिला कैदीबन्दीहरुले नगरपालिकाको यस कार्यलाइ धन्यवाद व्यक्त गरेका छन् ।
कैदी जीवन व्यतीत गरि रहेका बाग्चौर नपा–७ कोटबारा निवासी टेकबहादुर रावत र गंगा रावतका दुइ सन्तान ६ वर्षीया चेतना रावत उनकी चार वर्षीया बहिनी वर्षा रावतलाइ सामान्य अध्यापन गराउँदै आएकी बन्दी सलिना गहतराजले शैक्षिक सामाग्री पाएपछि अध्यापन गराउन सहज भएको बताइन् । कारागारमा महिलाहरु महिनावारी भएको समयमा सफा कपडा प्रयोग गर्न नसकेको अवस्थामा विभिन्न संक्रमण हुन सक्ने भएकाले प्याड वितरण गरिएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post