खोजखबर संवाददाता
बाँके असार २८ गते । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा शनिबार फोहर मैला व्यवस्थापन केन्द्र ल्याण्डफिल्ड साइडमा वृहत वृक्षारोपण सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २३ स्थित ल्याण्डफील्ड साइडको क्षेत्रमा एक हजार विरुवा रोपिएको हो ।
एक कर्मचारी एक विरुवा, एक जनप्रतिनिधि दुई विरुवा नारासहित वृहत वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भमा बोल्दै उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले ल्याण्ड फिल साइडको वृक्षारोपणले वातावरण स्वच्छसँगै सुन्दरता पनि बढाउने भएकाले पर्यटकको पनि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपालगञ्जलाई विकासको उतकृष्ट नमूना र हरित शहर बनाउने उदघोष गर्नु भयो ।
उपमहानगरपालिकाका जनप्रतिनीधी, कर्मचारी, सरसफाईकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको ठुलो उपस्थिती रहेको कार्यक्रममा नगर प्रमुख राणाले सगुनको विरुवा रोपेर वृक्षारोपण शुरु गर्नु भयो । साइडको किनार÷ खाली स्थानमा सगुन, अमला, कोइराला, शितल चिनी र कागती लगायतका विरुवा रोपीएका छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, बातावरण इन्जिनियर प्रकाश डीसी, उपमहानगरपालिकाका प्रवक्ता एवं वडा न १ का अध्यक्ष प्रमोद रिजाल, दिपक वर्मा अन्य वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सुरक्षा अधिकारी लगायतले विरुवा रोप्नु भएको थियो । परिक्षणका रुपमा सञ्चालनमा ल्याइसकिएको ल्याण्डफिल्ड साइटको समेत अवलोकन गरिएको छ । दैनिक २५ देखि ३० टन सम्म जम्मा हुने नगरको फोहर ल्याण्डफिल्ड साइटमै भण्डारण गर्न सकिनेछ । फोहर विसर्जन गर्ने भरपर्दो स्थान नहुँदा अनेकन समस्या व्यहोर्दै आएको उपमहाजनगरपालिकाले अब सास्ती भोग्नु पर्ने छैन ।
Discussion about this post