नवलपुर फागुन २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले डिभिजन वन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक वन अधिकृत (निमिक्त कार्यालय प्रमुख) कृष्णबहादुर देवकोटालाई २ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको छ ।
विहीबार अख्तियारको टोलीले देवकोटा सहित कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेलीलाई पनि कावासोती ८ मा रहेको डिभिजन वन कार्यालयबाटै घुस रकम सहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
नवलपुरमा वैज्ञानिक वनको नाममा कटानी भएका काठहरुको टेण्डरमा उपभोक्ता समूहले घुस दिनु परेको गुनासोको आधारमा अख्तियारको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय नवलपुरमा काठको व्यापक रुपमा टेण्डर हुने गरेको छ भने त्यस वापत सामुदायिक वन र ठेकेदार दुवैसँग वन कर्मचारीले घुस लिने गरेको बताइएको छ ।
पक्राउ परेका दुवै माथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post