बर्दिया फागुन १६ गते ।
बर्दिया जिल्लाको ८ वटै स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण भईरहेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये राजापुर नगरपालिकाले सबै चरणहरु पार गरी वास प्लानको तथ्यांक संकलनको अन्तिम चरणमा पुगिसकेको जिल्ला वास संयोजक यज्ञ राज जोशीले जानकारी दिएका छन् ।
वास प्लान निर्माण गर्नका लागि सबै भन्दा पहिले वास प्लान बनाउने भन्ने बिषयमा सम्बन्धित स्थानीय तहले निर्णय गर्नुपर्छ । वास प्लान निर्माणको दोस्रो चरणमा पालिका र वडा वास कार्यदल बनाईन्छ । तेस्रो चरणमा तथ्याङ्क संकलन तथा परिक्षण विश्लेषण गरिन्छ । चौथो चरणमा संकलित तथ्याङ्कका बिषयमा वडा बैठकमा छलफल गरिन्छ । त्यसपछि वडा स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति (वडा वास सिसी) द्वारा वास प्लान निर्माण गरिन्छ भने पालिका स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति (पालिका वाससिसि) ले पालिका वास प्लान निर्माण गरी अनुमोदन गरिन्छ । र पाँचौं चरणमा कार्यपालिकाले वास प्लान पारित गरेपछि लागु हुन्छ ।
जिल्ला वास संयोजक जोशीका अनुसार बासगढ़ी नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिकाको तथ्यांक संकलनको काम भईरहेको छ । बाँकी ४ वटा स्थानीय तह मध्ये बारबर्दिया नगरपालिकाको गणकहरुलाई तालिम दिईएको र बाँकी स्थानीय तहहरुमा तालिम सञ्चालन गरी वास प्लान बनाउने प्रक्रिया गईसकेको उनले बताए । यी सबै क्रियाकलापहरु सञ्चालनका लागि सम्बन्धित स्थानीय तहले नै स्रोत व्यवस्थापन गरेका छन् भने वास प्लान निर्माणको सहजीकरणका लागि प्रदेश ५ सरकारको भौतिक पूर्वाधार मन्त्रालयले एक जना जिल्ला वास प्लान संयोजकलाई खटाएको छ ।
हालसम्मको प्रगति हेर्दा चालु आर्थिक बर्ष भित्रै बर्दिया जिल्लाको सबै स्थानीय तहको वास प्लान निर्माण भईसक्ने जिल्ला वास प्लान संयोजक यज्ञ राज जोशीले जानकारी दिए। प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम अनुरुप भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश ५ का १ सय ९ वटै स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माणको लागि सहजीकरण गरिरहेको छ ।
Discussion about this post