प्रितम तामाङ, काठमाडौं फागुन २८ गते । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा आज बिहान ठूलो आवाजसहित विस्फोट भएको हो ।
विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको बा १९ प ४७८१ नम्बरको मारुती भ्यान क्षतिग्रस्त भएको छ । विस्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घरमा पनि क्षति पुगेको स्थानीयले जनाएका छन् । बास्कोटाका छिमेकीहरु कुबेर केसी र कपिलदेव घिमिरेको घरमा क्षति पुगेको जनाइएको छ । स्थानीय कपिल घिमिरेले आफनो घरमा एक करोड बराबरको क्षति भएको बताएका छन् ।
बास्कोटाको घर क्षेत्रमा हिजो दिनभर प्रहरीले गस्ती गरेको थियो । आज बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको हो । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।
कमिशनस्वरुप आउने ७० करोडमध्ये करिब ५५ करोड रुपैयाँ मिश्रसँग बार्गे्निङ गरिरहेको अडियो बाहिरिएसँगै बाँस्कोटाले पदबाट राजिनामा दिनुपरेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post