पाल्पा चैत्र २८ गते । कोरोनाको कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा स्थगित भएपछि सामुदायिक रेडियो मदनपोखराले दूरशिक्षा रेडियो कार्यक्रम सुरु गरेको छ ।तानसेन नगरपालिकासँगको सहकार्यमा हरेक बिहान सवा १० बजेदेखि ४ बजेसम्म दूरशिक्षा रेडियो कार्यक्रम ‘एसईई पाठशाला’ उत्पादन र प्रसारण गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताउनुभयो ।
परीक्षा स्थगित भएपछि तनावमा रहेका विद्यार्थीलाई रेडियोबाट पठनपाठन गराउन सुरु गरेपछि उनीहरु उत्साहित बनेका छन् । कोरोना सङ्क्रमण रोकथामको लागि सरकारले ‘लकडाउन’ गरी आवागमन बन्द गरेको छ । यस्तै विद्यालय र कलेजका सम्पूर्ण शैक्षिक गतिविधि पनि बन्द गरिएको छ ।
लम्बिएको ‘लकडाउन’को अवस्थालाई मध्यनजर गरी सुरु गरिएको एसईई पाठशालामा अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्प्युटर विषयको पठनपाठन गरिन्छ । हरेक विषयको कक्षा हरेक दिन ४५ मिनेट सञ्चालन हुन्छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीहरुको ध्यान बाहिरी कुरामा नजाओस् र परीक्षाको तयारीमा लागिरहोस् भन्ने उद्देश्यले रेडियोबाट पढाउन थालिएको बताउनुभयो । ‘बन्दाबन्दी (लकडाउन) को कारण घरमा रहेका विद्यार्थीले रेडियोमार्फत पढन, नयाँ कुरा सिक्न र आफूले नबुझेका कुरा शिक्षकसँग सोध्नपाउने भएकाले पाठशाला अत्यन्त प्रभावकारी बनेको छ ।’ नगरपालिका प्रमुख शाहीले बताउनु भयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post