सरला सुबेदी बाँके बैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ को शुभकामना दिएकी छन । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् ।
कोरोना भाइरसबाट सिर्जित समस्या समाधानका लागि साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको पनि राष्ट्रपति भण्डारीको दाबी छ । राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले अब अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने खाँचो औंल्याएकी छन् ।
राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post