काठमाडौं बैशाख ९ गते । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला अध्यादेश ल्याउनु राजनीतिक इतिहासकै दुःखद घटना भएको टिप्पणी गरेका छन ।
सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति देउवाले सरकारले अध्यादेश ल्याउनु र राष्ट्रपतिले तत्कालै जारी गर्नु दुबै दुःखद घटना भएको टिप्पणी गरेका हुन । ‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो’ देउवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । यसअघि संसदीय दल र केन्द्रिय समिति दुबैमा अनिवार्य रुपमा ४० प्रतिशत चाहिने व्यवस्थाका कारण दल फुटाउन सहज थिएन ।
यो अध्यादेश आएपछि अब नेकपा, राप्रपा, राजपा र समाजवादी पार्टीलाई फुट्न सहज हुनेछ । उस्तै परे प्रधानमन्त्री केपी शर्मा ओली फेरि चुनावमा गएर प्रधानमन्त्री बन्न पनि नेकपा फुटाउन सक्छन । यसका लागि उनले अहिल्यै बाटो खोलेका छन ।
कांग्रेस सभापति देउवाले अध्यादेश फिर्ता लिन माग पनि गरेका छन । कोरोना भाइरसको महामारीसँग जुध्नु परेका बेला अध्यादेश ल्याएर राजनीति नै धमिलो पार्न खोज्नु ठीक नभएको भन्दै देउवाले तत्काल दुबै अध्यादेश फिर्ता गर्न पनि सरकारसँग माग गरेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post