बर्दिया बैशाख २५ गते ।
बाघको आक्रमणमा परी बर्दिया गेरुवा गाउँपालिका वार्ड नम्वर ४ तिनघरुवा निवासी ६७ वर्षीय मायाँराम खनाल गम्भीर घाइते भएका छन् । डोंगपुर सामुदायिक वनमा भैंसी चराउन गएका खनाललाई बिहीबार दिउँसो साढे ३ बजे गेरुवा कर्णाली नदीमा पानी खुवाउने क्रममा बाघले आक्रमण गरेको हो ।
स्थानीय सामुदायिक वन नजिकै रहेको नदीमा पानी खुवाउने क्रममा एक्कासी बाघले खनाललाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।
बाघको आक्रमणबाट उहाँको दुवै कुम, घाँटी र ढाडमा घाउ लागेको छ । बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । बाघ आक्रमणका घाइते खनाललाई उपचारका लागि नेपालगञ्ज लगिएको जनाइएको छ । बाघको आक्रमणमा परि निकुञ्जले जनाएको छ । बाघको आक्रमणमा परि घाइते भएको खनाल वडा नं ४ का वडा सदस्य हुन् ।
केही महिनाअघि सोही क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणले गोठाला महिलाको मृत्यु भएको थियो । स्थानीय शिक्षक सुदन घिमिरेले गोला क्षेत्र वन्यजन्तुबाट जोखिममा रहेकाले सम्बन्धित निकायले सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।
उनले गोलावासीलाई हात्ती, बाघ लगायतका बन्यजन्तुबाट हैरानी खेप्नु परेको बताए । गोला क्षेत्रमा केही दिन अघि मात्र जंगली हात्तीले घर भत्काइ लाखौंको क्षति पुर्याएको थियो ।
Discussion about this post